संसदको पदावधि सकिएको ११ दिन बितिसक्दा पनि गाडी फिर्ता भएनन्, चुनाव प्रसारमा दुरुपयोग

९ कार्तिक २०७४, बिहीबार ०५:२४

कात्तिक ९, काठमाडौं । निर्वतमान भइसकेका केही सांसदले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ ।

निर्वतमान सभामुख उपसभामुख सहित विभिन्न समितिका पदाधिकारीले पदिय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।  ओनसरी घर्ती मगर र निवर्तमान उपसभामुख गंगाप्रसाद यादव सुविधा बापत पाएको गाडी फिर्ता नगरी त्यसैमा चढेर चुनाव प्रचारका लागि गृह जिल्ला तर्फ लागेका छन् । संसदका १३ वटा समितिका निवर्तमान सभापति मध्ये ९ जनाले पनि गाडी फिर्ता गरेका छैनन् । उनिहरुले निर्वाचन प्रचारमा गाडीको दुरुपयोग गरेको पाएको छ । पाँच जना प्रमुख सचेतक तथा तीन जना सचेतकले पनि सवारीसाधन फिर्ता गरेका छैनन् ।

संसदको कार्यकालभित्र संसद् सचिवालयबाट सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, प्रमुख सचेतक, सचेतक गरी २६ जनालाई सवारीसाधन दिइएको थियो । सचिवालयको रेकर्डमा ७ जनाले मात्र सवारसाधन बुझाएको देखिन्छ ।   संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धि ऐनको दफा ७ को उपदफा ३ बमोजिम पदावधि सकिएको सात दिनभित्र पदाधिकारहिरुको हैसियतले प्रयोग गरेको सवारीसाधन फिर्ता गर्नुपर्ने हुन्छ । संसदको पदावधि सकिएको ११ दिन बितिसकेको छ । सवारीसाधन समयमा नबुझाएपछि संसद् सचिवालयले एसएमसमार्फत सम्बन्धित व्यक्तिलाई जानकारी पठाउको सवारी शाखाका प्रमुख नेत्रबहादुर कार्कीले बताए ।
अर्थ समितिका प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिका भीष्मराज आङदेम्बे, कृषि तथा जलस्रोत समितिका गंगा चौधरी, महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिकी रञ्जुकुमारी झा, सामाजिक न्याय तथा मानव अधिकार समितिका शुसिलकुमार श्रेष्ठ, सार्वजनिक लेखा समितिका डोरप्रसाद उपाध्याय, सुशान तथा अनुगमन समितिका मोहन सिं राठौर र सदस्य सुनुवाई विशेष समितिका कुलबहादुर गुरूङले सभापतिको हैसियतमा पाएका गाडी फिर्ता गरेका छैनन् ।

 

त्यस्तै प्रमुख सचेतकका रुपमा नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठ, माओबादी केन्द्रकी रेखा शर्मा, नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्रप्रसाद चौधरी, राष्ट्रिय जनता पार्टीका जंगीलाल राय यादव र राप्रपाकी कुन्तीकुमारी शाहीले पनि सुविधा पाएका गाडी फिर्ता गरेका छैनन् । शाही हाल सहरी विकास राज्य मन्त्री समेत छन् । सवारी साधन फिर्ता नगर्ने प्रमुख दलका सचेतकमा कांग्रेसकी ईश्वरी न्यौपाने, एमालेका गोकुल घर्ती मगर र माओबादी केन्द्रकी सीता नेपाली छन् ।

–समाचार आजको नागरिक दैनिकबाट