संघ र प्रदेश निर्वाचनका लागि १९ हजार ८०९ मतदान केन्द्र तोकियो

२ कार्तिक २०७४, बिहीबार ०४:१५

कात्तिक २, काठमाडौं । निवार्चन आयोगले मङ्सिरमा हुने निर्वाचनको लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ।

आयोगले दिएको जानकारीअनुसार आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १९ हजार ८०९ मतदान केन्द्रको संख्यामा केन्द्र निर्धारण गरिएको हो ।  प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव आयोगले मतदाता नामावलीलाई २०७४ असोज १७ गते अन्तिमरूप दिइसकेको जानकारी दिएका छन् ।

 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ ।  पहिलो चरण अर्थात मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने प्रमुख आयुक्त यादवले जानकारी दिए ।

 

पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । त्यसैगरी नयाँ थपिएका मतदाता परिचयपत्र छपाइ गरी वितरण गरिने बताइएको छ ।  नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग दृढताका साथ अगाडि बढिरहेको र त्यसै अनुरूप आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन गर्न सम्पूर्ण तयारी पूरा गर्ने गरी आयोग अहोरात्र खटिरहेको यादवले बुधबार जनाए ।

 

निर्वाचन कार्यक्रमअनुसार असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारीको बन्दसूची पेश भई अब हामी निर्वाचनको अन्तिम चरणमा प्रवेश गरिसकेका उनले विश्वास व्यक्त गरे ।  पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाहरुमा कात्तिक ५ गते पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उमेदवारीको मनोनयन दर्ताको कार्यक्रम रहेको हुँदा सो कार्यक्रमसमेत शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उमेदवारहरुलाई आयोग पुनः हार्दिक आह्वान गर्दछ,ू उनले भने ।