विमानको मूल्यभन्दा ८४ करोड बढि खर्च मर्मतमा

८ कार्तिक २०७४, बुधबार १३:५७

कात्तिक ८, काठमाडौं । नेपाल वायुसेवा निगमले गत महिना ‘कर्णाली’ नामक बोइङ विमान लिलामीमा राख्यो ।

बीबी एयरवेजले उक्त ७५७–२०० विमान १५ करोड रुपैयाँमा सकार्‍यो । निगमले एनआरएनएका नवनिर्वाचित अध्यक्ष भवन भट्टको बीबी एयरवेजसँग १० प्रतिशत एडभान्स रकम लिइसकेको छ । एक हप्ताभित्र पूरै रकम चुक्ता गरेर कम्पनीले विमान लैजानेछ ।  बीबीले विमान मर्मतपछि काठमाडौं–नयाँदिल्ली उडान गर्ने तयारी गरेको छ । तर, यसका लागि कम्पनीले किनेको रकमभन्दा ६ गुणाभन्दा बढी खर्च गर्नुपर्नेछ ।

 

विक्रेता नेवानिका अनुसार विमानको इन्जिन बनाउनुपर्ने भएकाले यसका लागि मोटो रकम खर्च हुन्छ । निगम स्रोतका अनुसार उक्त बोइङको इन्जिन बनाउन करिब ९९ सय करोड रुपैयाँ लाग्छ । “इन्जिन बनाउनुपर्ने भएकाले यति धेरै खर्च लाग्ने भएको हो,” निगमका एक उच्च अधिकारी भन्छन्, “झन्डै एक अर्ब खर्च हुने हाम्रो अनुमान छ ।”  इन्जिन बनाइसकेपछि भने नयाँ विमान सरह यसलाई प्रयोग गर्न सकिन्छ । “९९ करोडभन्दा माथि खर्च गरेर बनाउन सक्ने हो भने विमान नयाँ जस्तै हुन्छ । नयाँ एयरबस जस्तै थोरै इन्धनमा विमानले उडान भर्नसक्छ ।”

 

करिब १४ करोड रुपैयाँमा एक अमेरिकन कम्पनीले उक्त विमान किन्ने तयारी गरे पनि अन्तिममा आएर बीबी एयरवेजले १५ करोडमा किन्न टेन्डर हालेको थियो । नेवानिले तीन दशक अगाडि १ अर्ब ३० करोड रुपैयाँमा उक्त अमेरिकी जेट विमान खरिद गरेको थियो । विमान कम्तीमा १६ करोड ६२ लाख रूपैयाँमा लिलाम गर्न सकिने स्वीट्जरल्याण्डको परामर्शदाता कम्पनी फिनटेक एभिएसन सर्भिसले निगमलाई सुझाव दिएको थियो । उक्त मूल्यमा १० प्रतिशत तलमाथि गरेर लिलाम गर्ने निगमसँग अधिकार थियो ।    अहिलेकै अवस्थामा विमान केही सय घण्टा उडाउन सकिन्छ । खरिदकर्ताले चाहेको स्थानसम्म विमान उडाएर लैजान सकोस् भनेर निगमले केही समयदेखि विमान उडान नगरी राखेको थियो ।

निगमले २०४३ सालमा खरिद गरेको यो पहिलो बोइङ ७५७ को नाम ‘कर्णाली’ हो । सन् १९८३ मा पहिलो उडान भरेको यो सिरिजको विमान उत्पादन भएको चार वर्षपछि निगमले नेपाल भित्र्याएको थियो । बोइङ कम्पनीले यो सिरिजको विमान उत्पादन २००४ अक्टोवरदेखि बन्द गरिसकेको बताइएको छ । ३० वर्षभन्दा पुराना विमान राखेर अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै निगम अहिले नयाँ विमान खरिदमा जुटेको छ ।