वाम गठबन्धन कार्यदलले टुंग्यायो १ सय २८ सिटको बाँडफाँट, बाँकी मिलाउने जिम्मा शीर्ष नेतालाई

९ कार्तिक २०७४, बिहीबार ११:२४

कात्तिक ९, काठमाडौँ । बाम गठबन्धनको निर्वाचन क्षेत्र बाँडफाँट सम्बन्धी कार्यदलले १ सय २८ सिटको बाँडफाँट टुंगाएको छ । साथै सहमति हुन बाँकी सिटको टुङ्गो लाउने जिम्मा शीर्ष नेतालाई दिएको छ ।

केही निर्वाचन क्षेत्रमा माओवादी केन्द्र एमालेका आकांक्षीले कडा रुपमा दाबी प्रस्तुत गरेपछि टुंगिन सकेको छैन । दाङको २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा र एमालेका शंकर पोखरेलले दाबी गर्दा कार्यदल टुंगोमा पुग्न सकेको छैन ।

त्यस्तै चितवन– २ मा पनि एमालेका नेता कृष्णभक्त पोखरेल र रामबहादुर थापा ‘बादल’ दुवैले दाबी गरिहरेका छन् । कार्यदलमा एमाले सदस्य सुरेन्द्र पाण्डेले बुधबार कार्यदलले बाँडफाँटलाई अन्तिम रुप दिएर नेताहरूलाई प्रतिवेदन दिएको बताए ।