माटोबाट बनेको प्यालाको मूल्य ३ अर्ब ९६ करोड

२३ आश्विन २०७४, सोमबार ११:५१

२३ असोज, काठमाडौँ । चिनिया बाटोबाट बनेको एक कचौरा गत मंगलबार ३ अर्ब ९६ करोडमा लिलाम भएको छ । प्रश्न उठ्न सक्छ, आखिर किन भयो एउटा कचौराको मूल्य यति धरै जुन विश्वमा चर्चाको विषय बनेको छ ।

चिनियाँ माटोबाट बनेको उक्त कचौरा हजार वर्ष पुरानो हो । चीनको सांग राजवंशको पालाको कचौरा हंगकंगमा गत मंगलबार रेकर्ड तोड्ने मूल्यमा लिलाम भएको हो ।

खरिद गर्ने व्यक्तिले यसलाई ३८ मिलियन डलर (३ अर्ब ९६ करोड रुपैयाँ) को बोली लगाए ।

खरिद गर्ने व्यक्तिले आफ्नो पहिचान नखुलाउने विकल्प चुनेका छन् ।

अक्शन हाउस सोथबेका अनुसार उक्त दुर्लभ चीनियाँ कचौरा २० मिनेटको बोलीमा नै बिक्री भएको हो । केहीले फोनमार्फत बोली लगाए भने धेरैजसो बोली लगाउने अक्शन हाउसमा नै उपस्थित थिए ।

उक्त सानो कचौराको आकार १३ सेन्टिमिटर छ जुन निलो–हरियो रंगको छ । कचौराको महत्वको अन्दाज यसबाट लगाउन सकिन्छ कि यसको सुरुवात १०.२ मिलियन डलरबाट बोली सुरु भयो ।

लिलामी जित्ने व्यक्ति अक्शन रुममा उपस्थित थिएनन् । उनले फोनमार्फत बोली लगाएका हुन् ।

अक्शन हाउस सोथबेमा चीनियाँ कलाकृतिहरुका प्रमुख निकालस काउले उक्त कचौरालाई असाधारण र दुर्लभ बताएका छन् ।

यसअघि सन् २०१४ मा चीनकै मिंग राजवंशको पालाको एक रक्सीको प्याला ३६ मिलियन डलरमा बिक्रि भएको थियो । यसलाई व्यवसायी ली यिकियानले खरिद गरेका थिए । उनी कुनै बेला ट्याक्सी चलाउने गरेका थिए भन्ने गरिएको छ ।