बाथरोगका लक्षण र बच्ने उपाय बारे डा. अविलासा साहा भन्नुहुन्छ

२७ आश्विन २०७४, शुक्रबार ०४:२६

के हो बाथरोग ?

बाथरोग एक प्रकारको ‘अटोइम्युन डिजिज’ हो। अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरको अंगलाई असर गर्दा बाथरोग हुने गर्छ। बाथरोग धेरै प्रकारका हुन्छन्। विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्।

तर, सबैजसो बाथरोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो। यसले हाडजोर्नी बाहेक शरीरका कुनै पनि भित्री अंग (जस्तैः मुटु, मिर्गौला, फोक्सो, मस्तिष्क, कलेजो, आदि) लाई हानी गर्न सक्छ। समयमा उपचार नपाए बाथरोगले ज्यानसमेत लिने गर्छ।

ल्याब परीक्षण गरेर मात्र बाथरोग हो होइन पत्ता लगाउन सकिन्छ। कुनै बाथ सामान्य प्रकारको हुन्छ भने कुनै जटिल। सामान्य खालको बाथ पूर्ण रूपमा निको हुन सक्छ भने जटिल खालको बाथले गम्भीर असर पार्न सक्छ। जटिल प्रकारको बाथको असर सुरूमा हड्डीमा देखिन्छ र विस्तारै त्यसले मुटु, मिर्गौला, छाला, आँखा, कलेजो आदि अंगमा गम्भीर क्षति पुर्‍याउँछ।

नेपालमा कति छन् बाथरोगी ?

अहिले ‘गठिया बाथ’ धेरैमा देखिएको छ। नेपालमा कति जनामा बाथरोग छ भनेर यकिन तथ्यांक छैन। तर, अमेरिकन कलेज अफ न्युमाटोलोेजिस्टको तथ्यक अनुसार कुल जनसंख्याको १० प्रतिशतमा बाथरोग लाग्न सक्छ। यसलाई आधार मान्ने हो भने, नेपालमा करिब ३ देखि ४ लाख मानिसमा बाथरोग छ भन्ने अनुमान गर्न सकिन्छ।

अहिले नेपालमा पनि बाथरोग सम्बन्धी विभिन्न जनजेतनमूलक कार्यक्रमहरु हुँदै आएको छ। नेसनल सेन्टर फर न्युम्याटिक डिजिजले बाथरोग सम्बन्धी तथ्यांकहरु संकलनको काम गरिरहेको छ।

यो रोग कुन उमेर समूहलाई बढी लाग्छ ?

जुनसुकै उमेर समूहका मानिसलाई बाथरोगका लक्षण देखिन सक्छ। बुढेसकाल लागेपछि यो रोगका लक्षण देखिए भने यसलाई ‘लेट अनसेड आर्थराइटिस’ भनिन्छ। सयभन्दा बढी प्रकारका बाथ रोगमध्ये गठिया बाथ अथवा ‘प्यालोटोइड आर्थराइटिस’ सबैभन्दा धेरै देखिनेगर्छ।

गठिया बाथले मुख्यतः हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ। गठिया बाथ पुरुषमा भन्दा महिलालाई बढी देखिने गर्छ भने युरिक एसिडले गर्ने ‘गाउट’ पुरुषमा बढी देखिन्छ। महिलामा भने महिनावारी सुकेपछि र पाठेघर फालेपछि बाथरोग हुने सम्भावना बढी हुन्छ। सुरुमा ३० वर्षको उमेरदेखि यसको लक्षण देखिन्छ र ४० वर्ष काटेपछि बाथरोग लाग्ने सम्भावना बढी हुन्छ। कतिपय बाथ वंशाणुगत कारणले पनि हुन्छ। तर, बाथ सरूवा रोग भने होइन।

के कारणले लाग्छ बाथ रोग ?

यो रोग जिवाणु तथा किटाणुले हुने रोग होइन। यो अटो इम्युन सिस्टमले जोर्नीहरुमा असर गर्ने रोग हो। आफ्नो इम्युन सिस्टमले आफैंलाई बिगार्ने रोग हो। बाथरोग हुनमा कुनै एक मात्र कारण देखिएको छैन। चिसो हावापानी तथा चुरोटको धुवाँबाट भने सकभर बच्नुपर्छ। प्रदूषित वातावरण तथा चुरोटको धुवाँले बाथलाई बढाउने गर्छ।

बाथरोगका लक्षणहरु

  • सुरुमा जोर्नी दुख्ने,

  • हातका औंला दुख्ने वा सुन्निने,

  • औंला बांगिँदै जाने,

  • बिहान उठ्नेबेलामा हातखुट्टा अह्ररो हुने,

  • गोलीगाँठो, घुँडा दुख्ने वा सुन्निने,

  • राति तथा बिहान ढाड दुख्ने,

  • बिहान ढाड अरट्ठो हुने, पिँडौला दुख्ने वा करकर खाने, खुट्टाको बुढीऔँला वरिपरि रातो भएर टेक्न नहुने, कुर्कुच्चा दुख्ने (प्रायः उठ्ने बेला),

  • जिउ गल्ने र छिटो थकान हुने, मांसपेसी कमजोर हुने,

  • छालामा डाबर वा निको नहुने घाउ आइरहने,

  • चिसोमा काम गर्दा हातखुट्टा निलो हुने, सुन्निने। आदि।

 

बाथरोगबाट बच्ने उपाय

जाडो महिनामा चिसोबाट बच्नु जरुरी हुन्छ। जोर्नी दुख्नासाथ खाना बार्ने प्रचन छ, त्यो एकदम गलत हो। युरिक एसिड ‘गाउट’ भन्ने बाथरोगलाई खाना बार्ने हो तर अरु बाथरोगमा खाना बार्न जरुरी छैन। खाना बार्यो भने झन् ‘इम्युन पावर’ कम हुन्छ र बाथरोग बढ्छ।

गाउट बाथरोग लागेका मानिसले चाहिँ जाडरक्सी, चुरोट, रातोमासु, सुकेको गेडागुडी, गोलभेँडा जस्ता खानेकुरा खानु हुँदैन। बाथरोगीलाई चिसोले धेरै नै दुःख दिने भएकाले चिसोको समयमा तातो लुगा लगाउने, चिसो पानीमा नखेल्ने, चिसो हावापानी तथा चुरोटको धुवाँबाट सकभर बच्ने गर्नुपर्छ।

कसरी पत्ता लगाउने बाथरोग ?

बिरामीमा देखिने लक्षण र जोर्नीहरूको जाँच गर्ने बित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ। कहिले काहीँ बाथरोग कति कडा छ वा कुन प्रकारको बाथ हो भन्ने बुझ्न रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ। धेरै पुरानो रोग तथा औंलाहरू बांगो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन। नेपालमा अलिअलि जोर्नी दुख्यो भने पेनकिलर खाने, युरिक एसिड भयो भनेर बस्ने चलन बढी देखिन्छ, यो एकदम गलत प्रवृति हो।

बाथरोगलाई बेवास्ता गर्यो भने मृत्यु पनि हुन सक्छ। त्यसैले बाथरोगलाई समयमै उपचार गरेर निको बनाउन सकिन्छ । जटिल प्रकारको बाथरोग लाग्यो भने, यसको उपाचार एकदमै महँगो हुनुका साथै पूर्ण निको पार्न गाह्रो हुन्छ।

(डा साह नेशनल बाथरोथ सेन्टरमा आबद्ध छिन्)

साभार ः स्वास्थ्य खबर