फेसबुकमार्फत एक करोडभन्दा बढी रकम ठगी गर्ने तीनजना पक्राउ

३० आश्विन २०७४, सोमबार १५:२२

असोज ३०, काठमाडौं । फेसबुकमार्फत बेलायतीका नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीनजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

 

मोरङ उर्लाबारी घर भई हाल बूढानीलकन्ठ नगरपालिका–१० बालुवाखानी बस्ने पवन न्यौपाने, भोजपुर हतुवाघडी गाउँपालिका–७ का सन्तोष बस्नेत र मोरङ, सुन्दर हरैंचा–६ का प्रदीप सुब्बालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

बेलायतीको नाममा फेसबुक बनाई बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलरसमेत पठाइदिन्छु भन्ने र सो सामान भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त सामान प्राप्त गर्न भारत सरकारको नियमानुसार विभिन्न कर तिर्नुपर्ने भनी आइएमीमार्फत रकम पठाउन लगाई विभिन्न व्यक्तिबाट रु एक करोडभन्दा बढी ठगी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ ।

उनीहरुले भरत कार्की, सीमा गुरुङ, सुनिमाया गुरुङ, हिमा माझी, सन्तोष बस्नेत र टंकमाया कार्कीका नाममा कोही कसैलाई फोन वा फेसबुकमार्फत ठगी गरेको प्रहरीले जनाएको छ । रासस