‘प्लस टु’ सञ्चालनका लागि देउसी खेलेर २५ लाख सङ्कलन

१० कार्तिक २०७४, शुक्रबार १०:३१

कात्तिक १०, जुम्ला । तातोपानी गाउँपालिका–८ टोप्ला ताम्तीका बासिन्दाले +२ सञ्चालनका लागि देउसी भैलो खेलेर रु. २५ लाख १२ हजार सङ्कलन गरेका छन् ।

जुम्लाकै अति दुर्गम क्षेत्रमा अवस्थित साविकको प्रस्तावित कालिका माध्यमिक विद्यालयलाई १० जोड २ मा स्तरोन्नति गर्न विद्यालयको नेतृत्वमा त्यहाँका समुदायले सामूहिक देउसी भैलो खेलेका हुन् । तिहारमा खेलिएको देउसीबाट रू २५ लाख ४२ हजार संकलन भएको साविकको ताम्ती गाविस वडा नं ७ का स्थानीय समुदायका अगुवा मानबहादुर शाहीले जानकारी दिए ।

दुर्गम बस्तीका विद्यालयलाई १० जोड दुई कक्षा सञ्चालन गर्न अनुमति नदिएकाले विद्यार्थीले उच्च शिक्षाका लागि अन्य गाविस/गाउँपालिका चाहार्नुपर्ने बाध्यताबाट मुक्त गराउन देउसी खेलेर रकम संकलन गर्नुपरेको देउसी संयोजन समितिका संयोजक जीवन शाहीले बताए । ‘शिक्षा क्षेत्रमा सबैलाई सहयोग गर्न अनुरोध गरेपछि समुदायबाट पनि सहयोग भएको छ’, उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरतबहादुर शाहीले १० कक्षासम्म अनुमति पाएको विद्यालयमा हालसम्म मावि दरबन्दी नरहेकाले समुदायले नै छ जना निजी शिक्षकलाई तलब खुवाउँदै आएको बताए । दश जोड दुई कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसी खेल्ने कुरा सार्वजनिक गरेपछि स्थानीयवासीले दिल खोलेर रू ११ हजार र सोभन्दा माथि दान दिएको उनले बताए ।

‘यत्रो रकम उठ्ला भन्ने सोँचेकै थिइएन, गाउँका सामान्य मान्छेले हजारौँ रुपैयाँ दिएपछि म आफैँले पनि रू एक लाख ११ हजार १११ दिएँ’, अध्यक्ष शाहीले भने । स्थानीयवासी धनबहादुर शाहीले सबैभन्दा बढी रकम रू एक लाख १३ हजार दान दिएको समेत उनले जानकारी दिए ।