प्रत्यक्ष चुनाव लड्ने कांग्रेसका शीर्ष नेताहरु को–कोसंग भिड्दै ?

१० कार्तिक २०७४, शुक्रबार १५:२७

कात्तिक १०, काठमाडौं । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेताहरु प्रत्यक्ष चुनाव लड्ने भएका छन् । कांग्रेसले २२ नेताको चुनाव क्षेत्र तय गरिसकेको छ भने बाँकी उम्मेदवार टुंगो लगाउन संसदीय समितिको बैठक चलिरहेको छ ।

कांग्रेस नेताहरुले धेरै ठाउँमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुपर्नेछ । वाम गठबन्धनले अहिलेसम्म दोस्रो चरणमा चुनाव हुने क्षेत्रहरुको उम्मेदवार तय गरेको छैन । तर, धेरै ठाउँमा उम्मेदवार तय जस्तै छ ।  कांग्रेस सभापति देउवाविरुद्ध वाम गठबन्धनबाट खगराज भट्ट उम्मेदवार हुनेछन् । माओवादी नेता भट्ट दुबै संविधानसभा चुनावमा देउवासँगै चुनाव लडेका थिए ।   स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा कांग्रेसभन्दा वाम गठबन्धन बलियो छ । वडाको मतका आधारमा कांग्रेसको १९ हजार ६ सय बढी भोट छ भने एमालेको ११ हजार ७०० र माओवादीको १ हजार ७ सय बढी भोट छ ।  तर, स्थानीय तहको चुनावमा अन्तरघात भएको कांग्रेस नेताहरु बताउँछन् । देउवाको आफ्नो व्यक्तिगत प्रभाव पनि भएकाले उनी जित्नेमा कांग्रेस ढुक्क देखिन्छ ।

 

तनहुँ १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध वाम गठबन्धनबाट एमालेका किसान श्रेष्ठसँग उम्मेदवार बन्दैछन् । स्थानीय तहको मतका आधारमा यहाँ कांग्रेस बलियो हो । माओवादीको भोट एमालेमा जोड्दा नि झण्डै बराबरी मात्र हुन्छ ।  तर, पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशी सार्वजनिकरुपमा उत्रिएका छन् र, आफूले टिकट नपाए पौडेलको जमानत जफत गराउने धम्की दिँदै हिँडेका छन् । कांग्रेस नेताहरुका अनुसार पौडेललाई चुनावमा एमालेले होइन, जोशीले गाह्रो पार्न सक्छन् ।

 

कांग्रेस महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्दैछन् । यो क्षेत्रमा वाम गठबन्धनको उम्मेदवार टुंगो लागेको छैन । एमालेले माओवादी नेता रामबहादुर थापा बादललाई उम्मेदवार बन्न आग्रह गरे पनि उनले मानेका छैनन् ।  शशांक दोस्रो संविधानसभामा यही क्षेत्रबाट चुनिएका थिए । स्थानीय तहको मतका आधारमा कांग्रेसले एमालेले भन्दा केही हजार बढी मत पाएको छ । तर, गठबन्धनकारी दलहरुको मत जोड्ने हो भने दुबै पक्षको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

 

पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं १ बाट चुनाव लड्दैछन् । दुबै संविधानसभामा यो क्षेत्रबाट जितेका उनीविरुद्ध वाम गठबन्धनले एमालेकी सावित्रा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि वरिष्ठ अधिवक्ता शम्भु थापालाई उम्मेदवार बनाउने छलफल पनि एमालेमा सुरु भएको छ ।  कांग्रेस नेताहरुका अनुसार सिंहका लागि एमाले प्रतिस्पर्धी होइन । तर, यो क्षेत्रमा साझा विवेकशील पार्टीबाट बीबीसीका पूर्वपत्रकार रविन्द्र मिश्र चुनावी मैदानमा उत्रिएका छन् । उनले प्रकाशमानको भोट काट्ने र एमालेले बलियो उम्मेदवार उठाउने हो प्रकाशमानलाई गाह्रो पर्ने नेताहरु बताउँछन् ।

 

पूर्वगृहमन्त्री विमलेन्द्र निधि धनुषा ३ बाट चुनाव लड्दैछन् । यहाँ वाम गठबन्धनबाट रघुवीर वा जुली महासेठ उम्मेदवार हुनेछन् । स्थानीय तहको मतका आधारमा कांग्रेस बलियो छ । कांग्रेसले झण्डै १८ हजार भोट पाउँदा एमालेले १३ र माओवादीले २ हजार भोट पाएको छ । राजपाले १३ हजार भोट पाएको छ ।

 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ रोजेका छन् । त्यहाँ वाम गठबन्धनबाट माओवादीका जाकिर हुसेन र निर्मल बरालले दाबी गरेका छन् । तर, माओवादीले टिकट पाएमा कांग्रेस नेता कार्कीलाई सजिलो हुनेछ किनकि यहाँ कांग्रेसको २१ हजार भोट छ भने माओवादीको झण्डै ५ हजार मात्र । सुनसरी ३ बाट चुनाव लड्ने विजयकुमार गच्छदारले वाम गठबन्धनबाट पुरानै प्रतिद्वन्द्वी भगवति चौधरी प्रतिस्पर्धी पाउनेछन् । त्यहाँ कांग्रेस र एमालेको बराबर मत छ । तर, फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि यो गच्छदार बलियो छ ।

 

मोरङ २ बाट चुनाव लड्न लागेका मिनेन्द्र रिजालले वाम गठबन्धनबाट रिषिकेश पोखरेल प्रतिद्वन्द्वी पाउनेछन् । स्थानीय चुनावको मतका आधारमा यहाँ वाम गठबन्धन झण्डै ८ हजार भोटले अगाडि छ । पोखरेल निवर्तमान सांसद हुन् भने पूर्वमन्त्री रिजाल पहिलोपटक यो क्षेत्रबाट चुनाव लड्न लागेका हुन् ।  स्याङ्जा २ मा कांग्रेसका गोपालमान श्रेष्ठ र वाम गठबन्धनबाट एमालेकी पद्मा अर्याल भिड्ने भएका छन् । स्थानीय चुनावका आधारमा त्यहाँ कांग्रेस र एमाले बराबर हैसियतमा छन् भने माओवादीको भोट निकै कम छ ।

 

पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का सुर्खेत १ बाट चुनाव लड्दैछन् । उनीविरुद्ध वाम गठबन्धनबाट एमालेको ध्रुव साही उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय तहको मतका आधारमा यहाँ कांग्रेस एमालेभन्दा केही हजार भोटले अगाडि छ तर, माओवादीको भोट थपिँदा खड्कालाई चुनाव जित्न सहज छैन ।  पर्सा ४ मा रमेश रिजालले वाम गठबन्धनबाट माओवादीकी उर्मिला अर्याल वा एमालेका जयप्रकाश चौधरी मध्ये एक प्रतिस्पर्धी पाउनेछन् ।

उदयपुर १ मा कांग्रेसका नारायण खड्का उम्मेदवार भएका छन् । वाम गठबन्धनले टुंगो लगाएको छैन ।  एमालेले पाएको अवस्थामा मञ्जु चौधरी र माओवादीले पाउँदा हिमाल किराती उम्मेदवार बन्नेछन् । स्थानीय तहको मतका आधारमा कांग्रेस र एमाले बराबर छन् भने माओवादीको मत जोड्दा बाम गठबन्धन झण्डै १५ हजार मतले अगाडि हुनेछ । यद्यपि खड्काको आफ्नै व्यक्तिगत मत पनि भएकाले प्रतिस्पर्धा रोचक हुने कांग्रेस नेताहरु बताउँछन् ।