देउवा नेतृत्वको सरकारले नै प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गराउने स्पष्ट : सचिव भट्टराई

१९ आश्विन २०७४, बिहीबार ०३:२२

असोज १९, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार ढाल्ने योजना नरहेको स्पष्ट पारेका छन् ।

उनले देउवा नेतृत्वको सरकारले नै प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गराउने बताए । चुनावको तयारी र दशैं मान्न गृह जिल्ला ताप्लेजुङ आएका सचिव भट्टराईले माओवादी केन्द्र र नयाँ शक्तिसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि सरकार परिवर्तनमा नयाँ गठबन्धन नलाग्ने प्रष्ट पारे ।

 

एमालेसँग चुनावी तालमेलको सहमति गरेको सत्तारुढ माओवादीले पनि सरकारको समर्थन अहिलेनै फिर्ता नलिने र देउवा सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गराउँदा एमालेलाई आपत्ति नहुने तर्क नेता भट्टराईले गरे । ।  एमाले–माओवादी गठबन्धनलगत्तै अहिलेको सत्ता गठबन्धन भत्किए पनि कानुनी र संवैधानिक रुपमा सरकार परिवर्तन गर्ने समय नरहेको उनको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि केन्द्र र प्रदेश सबैतिर वामपन्थी नेतृत्वको सरकार गठन हुने दाबी भट्टराईले गरे ।