तोकिएकै मितिमा निर्वाचन हुन्छ: आयुक्त यादव

२१ आश्विन २०७४, शनिबार १०:५४

काठमाडौँ, २१ असोज । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय राजनीतिकको वातावरण अस्थिर जस्तो देखिए पनि निर्वाचनका बारेमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।

समानुपातिक निर्वाचन प्रणाली सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आज आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले निर्वाचनका बारेमा दुबिधा नराख्न आग्रह गर्नुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “निर्वाचनका लागि अघि बढिरहेका छौ, सम्पूर्ण तयारी भइसकेकोछ, यही असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची बुझाउने कार्यक्रम नजिकिसकेको छ, आजको १५ दिनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता दिने मिति पनि आइसकेको छ ।”

समानुपातिक तर्फको बन्दसूची प्रस्तुत गर्दा विगतको राजनीतिक दलले चलखेल गर्न नमिल्ने गरी प्राथमिकताको क्रम कानूनले नै निर्धारण गरेको बताउँदै उहाँले आचारसंहिता पालनाको विषयमा राजनीतिक दल र उम्मेदवारले जनताबाट सिक्न आवश्यक छ भन्नुभयो ।

मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र लोकतन्त्रको सुदृढीकरणको लागि निर्वाचन आचारसंहिताको पालना गर्ने गराउने सन्दर्भमा जस्तोसुकै कारबाही गर्न दृढ रहेको बताउँदै आयुक्त डा यादवले जसरी पनि चुनाव जित्ने मनसाय नराख्नलो आचारसंहिता उलंघन भएको पाइएमा कारबाही हुने बताउनु भयो ।

आयुक्त ईश्वरीप्रसाद पौड्यालले पछिल्लो समय समानुपातिक निर्वाचन प्रणाली लोकप्रिय भएकैकारण विश्वका ७१ मुलुकले यसलाई आत्मसाथ गरेको जानकारी दिँदै बन्दसूचीलाई कसरी कम भन्दा कम बनाउने भन्ने सन्दर्भमा प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।

यस्तै आयुक्त सुधीरकुमार शाहले लोकतन्त्रको सुदृढीकरण र नैतिक आचरणमा रहने प्रत्यन राजनीतिक दल र उम्मेदवारबाट भएमा निर्वाचनमा आउने गरेका धेरै खाले टिक्का टिप्पणी हराउँदै जाने बताउनु भयो ।

गामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभामा ११० तथा प्रदेशसभामा २२० जनप्रतिनिधिको चयन हुनेछन् ।

यसैगरी, समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभाका लागि रु ५० हजार तथा प्रदेशसभाका लागि रु २५ हजार धरौटी राख्नुपर्ने कानूनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।