ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार अथकलाई दिइने

८ कार्तिक २०७४, बुधबार ०८:२६

कात्तिक ८, पोखरा । हरेक वर्ष ज्येष्ठ नागरिक सरोकार समाज नेपालले प्रदान गर्दै आएको ‘ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार २०७४’ यस वर्ष पोखराका पत्रकार कमल पौडेल अथकलाई प्रदान गरिने भएको छ ।

समाजका सल्लाहकार पीताम्बर शर्मा नेपालीको संयोजकत्वमा संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठ र सचिव केशवराज ढकाल सदस्य रहेको प्रतिभा छनोट समितिले दोस्रो पटक सो पुरस्कार प्रदान गर्न गरेको सिफारिसलाई समाजको आजको बैठकले अनुमोदन गरेको हो ।

संस्थाका कार्यसमिति सदस्य इच्छाबहादुर वाग्लेले आफ्नी आमा सेतीमायाका स्मृतिमा स्थापना गरेको सो पुरस्कारको राशि रु पाँच हजार ५५५ छ । उक्त पुरस्कारबाट पहिलो पटक तनहुँका पूर्णबहादुर विकेलाई प्रदान गर्ने निर्णय भए पनि दुवै पुरस्कार एउटै समारोहमा प्रदान गरिने तयारी भएको संस्थाका सचिव केशवराज ढकालले जानकारी दिए ।

ज्येष्ठ नागरिकका अधिकारका विषयमा समाचार सम्प्रेषण गरी समाजमा जागरण ल्याउने पत्रकारलाई प्रत्येक वर्ष दिइने सो पुरस्कार संस्थाको यही कात्तिक ११ गते पोखरामा हुने पाँचाँै साधारणसभामा वितरण गरिने बताइएको छ ।