काम थालेदेखि नै सञ्चयकोष, नसके मासिक तलबमै थप गरी दिनुपर्ने

२२ आश्विन २०७४, आईतवार ०३:५२

२२ असोज, काठमाडौँ । कामदारले अब काम थालेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्था भएको छ । नयाँ श्रम ऐन–२०७४ ले सबै कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गरेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

नयाँ श्रम ऐन गत भदौ १९ गतेदेखि नै लागू भइसकेको छ । यसअघि ऐनले कामदार स्थायी भइसकेपछि मात्रै सञ्चयकोष र उपदान पाउने व्यवस्था थियो । ऐनअनुसार पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा कर्मचारी वा जुनसुकै पदनाम दिई काम गरेकाले यी सुविधा पाउनेछन् । स्थायी र अस्थयी कामदारको सट्टा अबदेखि नियमित, कार्यगत, समयगत, आकस्मिक र आंशिक कामदारको रूपमा वर्गीकरण गरिएको छ ।

यो ऐन घरेलु कामदारदेखि एक जना मात्र कामदार रहेका समेत सबै प्रतिष्ठान, गुठी, निजी फर्म, साझेदारी फर्म, सहकारी संस्थामा लागू भएको छ । त्यसैगरी सञ्चयकोष र उपदानको रकम जम्मा गर्न नसकिने भए प्रत्येक महिना तलबमै थप गरी दिनुपर्ने व्यवस्था समेत ऐनमा भएको छ ।