कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी

१८ आश्विन २०७४, बुधबार ०८:४६

असोज १८, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बालुवाटारमा बसिरहेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा चुनावी तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । मुलुकका तीन कम्युनिष्ट पार्टी नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी तालमेल र पार्टी एकतासम्म गर्ने घोषणा गरेपछि कांग्रेस पनि आफ्नो रणनीति बनाउने तयारीमा लागेको हो ।

 

पछिल्लो राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाललगायतसँग परामर्श गर्ने बताइएको छ । मंगलबार पनि उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष कमल थापा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका थिए ।

आजको बैठकमा नेपाली कांग्रेसले सरकार, आसन्न निर्वाचन र पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने विषयमा छलफल गर्ने बताइएको छ । त्यसैगरी, बृहत् लोकतान्त्रिक शक्ति निमार्णका लागि पनि आजको कार्यसम्पादन समितिको बैठकमा छलफल हुने जनाइएको छ ।