काँग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता

३० आश्विन २०७४, सोमबार १०:३६

३० असोज काठमाडौँ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले दुबै पार्टी एकताका लागि भएको सहमति पत्र सार्वजनिक गरेका छन् ।

घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं सभापति देउवाले काँग्रेस नेतृत्वमा हुने लोकतन्त्र पक्षधर पार्टीहरुको एकीकरणले काँग्रेस पहिलो स्थानको पार्टी रहिरहने र यसले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरे ।

घोषणा कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित अन्य कांग्रेसी नेता तथा कार्यकर्ता र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार साथै नेता कार्यकर्ताको उपस्थित रहेका थिए ।