एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित

३१ आश्विन २०७४, मंगलवार ००:४७

असोज ३१, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौँमा सम्पन्न आठौँ महाधिवेनबाट अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । उनी जमुना घले गुरुङलाई भारी मतान्तरले हराउँदै विजयी भएका हुन् ।

उनले १ हजार १ सय ९७ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी गुरुङले ५ सय ८४ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कुल १ हजार ८ सय ५४ मध्ये १ हजार ७ सय ८८ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी भट्टले हारजित स्वभाविक प्रक्रिया भएकाले सबैको सहकार्यमा एनआरएनएका एजेन्डालाई पूरा गर्ने बताए । एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत एजेन्डाहरु समेत अघि बढाउने उनले बताए  ।

दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् ।

महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएकी छिन् । महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुनः डा. बद्री केसी निर्वािचत भएका छन् । दुुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा पुनः हिक्मतबहादुर थापा विजयी भएका छन् ।

सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ । महिला संयोजकमा भूमादेवी लिम्बु निवार्चित भएकी छिन् ।  युवा संयोजकमा सुदन थापा निवार्चित भए ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति रहेको छ । यो समाचार आजको कान्तिपुरमा छ ।