उत्तरी गोरखामा सोमबार साँझ हिमपात, चुनावी गतिविधि प्रभावित

१४ कार्तिक २०७४, मंगलवार ०८:४५

कात्तिक १४, गोरखा । गोरखाको उत्तरी क्षेत्रमा सोमबार साँझदेखि हिमपात भएसँगै आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावी गतिविधि प्रभावित भएको छ ।

हिउँद लागेपछि पहिलो पटक हिउँ पर्न सुरु भएको स्थानीयवासीले बताएका छन् । तीन हजार मिटर उचाईभन्दा माथिका अधिकांश ठाउँमा हिउँ परेको उनीहरुले बताए ।

हिमालपारिका सामागाउँ, साम्दो, ल्हो, प्रोक, छेकम्पारका बस्तीसम्मै हिउँ जमेको हो । ‘हिउँले बस्ती पुरै ढाकेको छ’, चुमनुव्री गाउँपालिकाका वडाध्यक्ष बेदप्रकाश ढकालले भने, ‘चिसो बढेका कारण चुनावी कार्यक्रम पनि प्रभावित हुनसक्छ ।’ हिउँ जमिराखे चुनाव गराउन समस्या हुने उनको भनाइ छ । चुनावका कारण जाडो छल्न अन्यत्र नगएर गाउँमै बसेका स्थानीय, पशुचौपाय चिसोका कारण प्रभावित भएका छन् ।

अर्कातिर हिउँले बाली सप्रिने भन्दै किसान भने खुसी भएका छन् । विगतका वर्षहरुमा भन्दा चाँडो हिउँ पर्न थालेको पनि उनीहरुको भनाइ छ । तर हिउँकै कारण स्थानीय घरबाट बाहिर ननिस्केको वडाध्यक्ष ढकालले बताए । जिल्लाको तल्लो पहाडी क्षेत्रमा पनि घाम लागेको छैन भने चिसो बढेको छ ।