आईजीपी विरुद्ध अवहेलनाको निवेदन सर्वोच्चमा दर्तासंगै अर्याललाई हटाउने देउवाको तयारी

९ कार्तिक २०७४, बिहीबार ०१:०४

कात्तिक ९, काठमाडौं । सरकारले अर्को साताभित्रै आईजीपी परिवर्तन गर्ने तयारी गरेको छ। हालका आईजीपी प्रकाश अर्याललाई हटाएर एआईजी जयबहादुर चन्दलाई नयाँ आईजीपी बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको योजना रहेको स्रोतको दाबी छ।

सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनामा मंगलबार निवेदन दर्ता गरिएको छ । उक्त निवेदन दर्ता भएसँगै अहिले नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने हल्ला चलेको छ ।

मंगलबार अधिवक्ता दिनेश त्रिपाठीले चैत ३१ गते सात दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनाको निवेदन मंगलबार दर्ता गरेका हुन् ।

निवेदनमा नेपाल प्रहरीका महानिरीक्षक अर्याललाई अदालतमा तत्काल उपस्थिति गराई अदालतको अवहेलना गरेकामा न्याय प्रशासन ऐन, २०७३ बमोजिम एक वर्ष कैद र १० हजार जरिवानबाको सजाय गर्न माग गरिएको छ । साथै, ढुंगेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायको समेत समन्वयमा नेपाल प्रहरीभित्र ‘उच्चस्तरीय टास्कफोर्स’को गठन गर्न आदेशको माग गरिएको छ ।

सर्वोच्च अदालतले आफ्नो वा आफ्नो मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

यसअघि पनि देउवाले चन्दलाई नै आईजीपी बनाउनुपर्ने भन्दै लबी गरेका थिए । तर, विविध कारणले देउवाको योजना सफल नभएपछि उनले पूनः आईजीपी अर्याललाई हटाएर खासगरी उनले अर्याललाई आफ्नो सुरक्षा सल्लाहकारमा तानेर एआईजी चन्दलाई नै आईजीपी बनाउने तयारी गरेका थिए । उनको योजनामा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जनार्दन शर्मा बाधक बनेका थिए । अहिले, शर्मा विना विभागीय भएपनि देउवालाई सजिलो भएको छ ।