आइतबारदेखि १८ वर्ष मुनिको युवा भलिबल प्रतियोगिता हुने

११ कार्तिक २०७४, शनिबार ०४:५६

कात्तिक ११, काठमाडौँ– नेपाल विद्यालय भलिबल कमिसनले आइतबारबाट १८ वर्ष मुनिको भलिबल प्रतियोगिता गर्ने भएको छ ।

महिला तथा पुरुष दुवै तर्फ प्रतिस्पर्धा गराइने प्रतियोगिता कात्तिक १९ सम्म नयाँ बसपार्क स्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।प्रथम प्याब्सन–विद्यालय भलिबल कसिसन यु–१८ महिला–पुरुष भलिबल नाम दिइएको प्रतियोगितामा पुरुषतर्फ २३ तथा महिलामा १६ टोली सहभागि हुने आयोजकले बताएका छन् । सात दिन चल्ने प्रतियोगितामा कुल ५८ खेल हुनेछन् । महिलातर्फ उपत्यकाका ८ र मोफसलका ८ टोली सहभागि हुनेछन् भने पुरुषको उपाधिका लागि उपत्यकाका ९ र मोफसलका १४ टोलीले प्रतिस्पर्धा गर्नेछन्।   लिग कम नकआउट प्रणालीमा गरिने प्रतियोगिता अन्तर्गत महिला र पुरुष दुवैतर्फ सहभागि टोलीलाई ८–८ समुहमा विभाजन गरिएको छ । महिलातर्फ भानुभक्त मेमोरियल बोर्डिङ स्कुल र सिभम न्यु डायमन्ड एकेडेमी समुह ‘ए’मा रहँदा समुह ‘बी’मा मेघौली स्पोर्टस एण्ड एजुकेशन क्लब र परोपकार स्कुल छन् । यसैगरी समुह ‘सी’मा स्प्रिङडेल इङलिस स्कुल र थ्री स्टार एकेडेमी, समुह ‘डी’मा नेपाल विद्यालय भलिबल कमिसन९झापा० र पारामाउन्ट इङलिस स्कुल, समुह ‘इ’मा एभरेस्ट बोर्डिङ स्कुल र बिन्ध्यबासिनी बोर्डिङ स्कुल, समुह ‘एफ’मा श्रीगाँउ खेलकुद विकास समिती र एमएएएल भलिबल टोली, समुह ‘जी’मा टप्स स्कुल र ग्लासियर कलेज तथा समुह एच’मा नेपाल विद्यालय भलिबल कमिसन (काभ्रे) र ढोरपाटन भलिबल क्लब रहेका छन्।

 

त्यस्तै पुरुषतर्फ समुह ‘ए’मा सेक्रेट हार्ट एकेडेमी, गुराँसे भुमे युवा क्लब र ग्लेसियर कलेज, समुह ‘बी’मा भुङताङ भलिबल टोली, नेपाल विद्यालय भलिबल कमिसन(झापा) र एमएएफ भलिबल टोली, समुह ‘सी’मा नमुना इङलिस स्कुल, नेपाल विद्यालय भलिबल कमिसन(मोरङ) र एड्भान्स एकेडेमी तथा समुह ‘डी’मा थ्री स्टार एकेडेमी, हिमचुली एकेडेमी र विनायक इङलिस बोर्डिङ स्कुल छन् । यसैगरी समुह ‘इ’मा आरुनी स्कुल, नेपाल भलिबल संघ (गुल्मी) र लिटल बुद्ध एकेडेमी, समुह ‘एफ’मा सुर्खेत भलिबल संघ, एन्जेल्स हार्ट स्कुल र स्प्रिङडेल इङलिस स्कुल, समुह ‘जी’मा नेपाल विद्यालय भलिबल कमिसन (काभ्रे), परामाउन्ड एकेडेमी र ढोरपाटन भलिबल क्लब तथा समुह ‘एच’मा न्युटन हाई स्कुल र सैलुङ ध्याङ युथ क्लब छन्।   महिलातर्फ १६ टोली मात्र सहभागि भएकाले पहिलो खेल जित्ने टोली स्वतः क्वार्टरफाइल प्रवेश गर्नेछ । पुरुषतर्फका खेल लिग कम नकआउटका आधारमा खेलाइने छ । प्रतियोगिताको दुवैका विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ६० हजार तथा तेस्रो हुने टोलीले ३५ हजार रुपैयाँ पाउने विद्यालय भलिबल कमिसनका अध्यक्ष राजकुमार केसीले जानकारी गराए ।

 

नेपालमा छरिएर बसेका उमेर समूहका प्रतिभालाई अवसर दिदै राष्ट्रिय यु–१८ टोली बनाउन प्रतियोगिता आयोजना गरिएको केसीको भनाई थियो ।  ‘हामीले उमेर समुहमा पनि राष्ट्रिय टोली बनाउने उदेश्यका साथ यो प्रतियोगिता आयोजना गरेका हौं,’ उनले भने, ‘हामी प्रतिगोगिताबाट उत्कृष्ट २४ महिला र २४ पुरुष खेलाडीको छनोट गर्दै उनीहरुलाई बन्द प्रशिक्षणमा राख्नेछौं ।नेपाल भलिबल संघको आयोजनामा उनीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी गराइने छ । उमेर समुहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय टोलीमा समेत स्थान बनाउन सक्छन् । उमेर समुहमा यो पहिलो प्रतियोगिता हो । हामी छिट्टै १४ र १६ वर्षमुनिका प्रतियोगिता पनि आयोजना गर्ने योजनामा छौं ।’  कमिसनका उपाध्यक्ष युवराज श्रेष्ठले भलिबलको स्तर माथि उकास्न ग्रासरुटबाटै विकासका कार्यक्रम गर्नुपर्ने बताए । ‘भलिबल नेपालको राष्ट्रिय खेल हो । यसको स्तरोन्नतीका लागि ग्रासरुटबाटै पहल थाल्नुपर्छ । उमेर समुहका प्रतियोगिताले नयाँ प्रतिभालाई क्षमता प्रदर्शनको अवसर दिन्छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘भलिबललाई संस्कारको रुपमा विकास गर्न यो प्रतियोगिता फलदायी हुने हामीले विश्वास लिएका छौं ।’

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले उमेर समुहको प्रतियोगिताले देशको भलिबल विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे।  ‘भलिबलमा पनि उमेर समुहको राष्ट्रिय टोली बनाउने उदेश्यका साथ गरिन लागेको यो काम प्रशंसनीय छ,’ शर्माले भने, ‘निजी स्तरबाट हुने यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचानमा विशेष सहयोग पुर्‍याउँछ । यो कामले आगामी दिनमा पनि निरन्तरता पाउने मैले आशा राखेको छु ।’  अध्यक्ष शर्माले नेपाल विद्यालय भलिबल कमिसनलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।