२०१८ मा हुने विश्वकपको तयारी तिब्र पार्न रुसी राष्ट्रपति पुटिनको निर्देशन

१८ आश्विन २०७४, बुधबार ०३:२४

एजेन्सी । रुसी राष्ट्रपति ब्बलादिमिर पुटिनले २०१८ मा हुने विश्वकपको तयारी तिब्र पार्न अफिसियललाई निर्देशन दिएका छन् । विश्वकप नजिक आएपनि अफिसियलहरूको कार्य सन्तोषजनक नभएको भन्दै राष्ट्रपति पुटिनले छिटो कार्य गर्न निर्देशन दिएका हुन् ।

 

पुटिनले सुरुमा विश्वकपको तयारीमा कार्यहरू सन्तोषजनक भएपनि पछिल्लो समयमा केही ढिलाई भई रहेको बताएको बिबिसीले उल्लेख गरेको छ । “यदि हामी आराम गर्छौ भने पूर्णरुपमा काम पूरा गर्न सक्दैनौं । अन्तिम चरणमा आएर कार्य गर्ने हो भने हामीलाई सबै भन्दा कठिन हुनेछ,” रुसी राष्ट्रपति पुटिनले भने ।

रुसले पहिलो पटक २०१८ मा विश्वकप फुटबलको आयोजना गर्न लागेको हो । विश्वकप रुसको ११ शहरको १२ स्थानमा हुनेछ । विश्वकप १४ जुन देखि १५ जुलाईसम्म आयोजना हुनेछ ।

 

यसअघि यहि वर्षको जुनमा विश्वकपको तयारीको रुपमा रहेको कन्फिडेरेशन कपको आयोजना गरेको थियो । प्रतियोगितामा कुनै पनि हिंशा तथा अप्रिय घटनाहरू हुन नदिएको रुसले उत्कृष्ट तरिकाले आयोजना गरेको विश्व फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इन्फान्टिनोले बताएका थिए । कन्फिडेरेशन कपको उपाधि विश्व विजेता जर्मनीले जितेको थियो ।