स्पेनलाई हराउँदै यू–१७ विश्वकप फुटबलको उपाधि इङ्ल्यान्डलाई

१२ कार्तिक २०७४, आईतवार ०३:५४

कात्तिक १२, काठमाडौं । स्पेनलाई ५–२ ले हराउँदै इङ्ल्यान्डले फिफा अण्डर सेभेन्टिन विश्वकप फुटबलको उपाधि जितेको छ ।

भारतको कोलकातामा शनिबार राती भएको फाइनलमा कुनै समय दुई गोलले पछि परेको इङ्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो ।

खेलको १० औं र ३१ औं मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए । पहिलो हाफमै इङ्ल्यान्डका रायन ब्रिउस्टरले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

दोस्रो हाफमा इङ्ल्यान्डले चार गोल थप्यो । उसका लागि फिल फोडेनले दुई गोल गर्दा गिब्स ह्वाईट र मार्क गेहीले एक–एक गोल थप्दै उपाधि सुरक्षित गरे ।

प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका इङ्ल्यान्डका रायन ब्रिउस्टरले गोल्डेन बुट पाए भने इङ्ल्यान्डकै फोडेन प्रतियोगिताको उत्कृष्ट खेलाडि घोषित भए । एजेन्सी