सप्तरीका दुई बाबुछोरा भारतीय प्रहरीको नियन्त्रणमा

१६ आश्विन २०७४, सोमबार ०४:३०

१६ असोज, सप्तरी । भारतीय प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाबुछोरालाई नियन्त्रणमा लिएको छ । सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका बाबु देवनारायण यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।


देवनारायणका छोरा अजयले भारतीय चेली भगाएर ल्याएको आरोपमा भारतीय प्रहरीमा मुद्दा परेकाले सोही काण्डमा अजयलाई पक्राउ गरेको प्रहरी स्रोतको भनाइ छ ।

स्थानीयकाअनुसार दशगजा क्षेत्रमा रहेको आर्दश ग्राम पञ्चायतमा शनिवार राती अजय सांस्कृतिक कार्यक्रम हेर्न गएका थिए । बाबुछोरा दुवैलाई भारतका विहार राज्यको सुपौल जिल्लास्थित विरपुर जेल चलान गरेको बताइए पनि आधिकारिक पुष्टी भने भएको छैन ।
‘देवनारायण छोरालाई छुटाउन जाँदा भारतीय प्रहरीबाट पक्राउ परेका हुन्’, सप्तरीका एसपी मुकेश सिंहले भने, ‘किन पक्राउ गरिएको भन्ने हामीलाई जानकारी आएको छैन ।’ एसपी सिंहले आफूहरुले बुझ्ने प्रयास गरिरहेको बताए ।

यादव गत बर्ष सप्तरीको तिलाठी सीमास्थित दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा भारतीयसँग झडप हुँदा देवनारायण घाइते भएका थिए । खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा तिलाठीबासी भारतीय पक्षको विरोधमा उत्रिएका थिए । भारतीय पक्षको विरोधमा उत्रिएकाबेला भारतीय पक्षको कुटाइबाट देवनारायण घाइते भएका थिए ।