सन् २०१९ को लागि डिभी आवेदन मङ्गलबार बेलुका ९ः४५ देखि खोलिदै

१७ आश्विन २०७४, मंगलवार ०१:०४

१७ असोज, काठमाडौँ । अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन आज अर्थात् १७ असोज (३ अक्टोबर) बेलुका ९ः४५ बजेदेखि खुला गर्ने भएको छ । डिभी भर्ने अन्तिम मिति कातिक २१ हुनेछ ।

काठमाडौँस्थित अमेरिकी दूताबासले भनेको छ, ‘मंगलबारदेखि सन् २०१९ को लागि डिभी आवेदन खुल्ला गरिदैंछ ।’ अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न भनिएको छ । यदि त्यसो गरेमा आवेदन स्वतः रद्द हुने दुतावासको विज्ञप्तिमा भनिएको छ ।

डिभी चिट्ठामा प्रवेश गर्न शुल्क तिर्नु नपर्ने दूताबासले जनाएको छ । दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सर्वसाधारणलाई आग्रह गरेको छ । ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला’, दूतावासले भनेको छ, ’सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ ।’

आवेदकहरूले दर्ता अवधिको बेलामा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम भर्न सक्नेछन् । दर्ता गर्दा आफ्ना पति वा पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ ।

 

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ । तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित नगरिने दूतावासले प्रष्ट पारेको छ ।

२०१९ को डिभी नजितजा आगामी वैशाख १८ गते आउने दूतावासले जनाएको छ । आपूmलाई चिठ्ठा परे नपरेको जानकारी www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गरेर बुझ्न सकिने छ । कन्फरमेसन नम्बर कसैलाई नदिई सुरक्षित राख्न दूतावासले आग्रह गरेको छ ।