संघीय समाजवादी फोरम र राजपा नेपालबीच सहकार्य

२० आश्विन २०७४, शुक्रबार १०:१६

काठमाडौँ, २० असोज । दलहरुबीच गठबन्धन गर्ने प्रक्रियामा होडबाजी चलिरहेको बेला संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि गठबन्धन बनेको छ । दुई पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले विज्ञप्तिमार्फत गठबन्धनको प्रक्रिया शुरु भएको जानकारी दिनुभएको हो ।

दुई पार्टीबीच भएको सहमतिअनुसार आगामी चुनावमा तालमेल र सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । कुनै पनि गठबन्धनको नाम नलिई दुई पार्टीले गठबन्धनमा जानु परे दुवै पार्टी साझा अवधारणाका साथ सहभागी हुने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फोरमका अध्यक्ष यादव र राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले गरेको सहमतिअनुसार मधेशी, आदिवासी जनजातिलगायतमाथि भएका सबै प्रकारका विभेदविरुद्ध लड्न सहकार्य समेत गरिने भएकोछ ।