संक्रमणकाल अन्त्य र संविधानको पूर्ण कार्यान्वयनको बेला आयो: प्रम देउवा

३ कार्तिक २०७४, शुक्रबार ०७:००

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताएका छन् ।

मध्यपुरथिमिस्थित शंखधर चोकमा आज राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवत्का प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा सम्मान कार्यक्रममा उनले यस्तो बताएको हो ।

प्रधानमन्त्री देउवाले भने “हामी संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्ने चरणमा आएका छौ, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेर यसलाई पूरा गर्न सक्छौं, त्यसैले निर्वाचन सफल पार्न सबैको सहयोग रहने विश्वास लिएका छौ ।”

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न प्रेरणा दिने नेपाल संवत्का प्रवद्र्धक साख्वाको योगदानको चर्चा गर्दै उनले नेपाली जनतालाई समानताको व्यवहार गर्ने साख्वाले चलाएको यो संवत् नेपालीको मौलिक संवत् भएको बताए ।

प्रधानमन्त्री देउवाले शंखधर बुलेटिन विमोचन गर्नुका साथै नरेन्द्रभक्त हाडा र देवेन्द्रकुमार मल्ललाई सम्मान गरेका थिए ।