वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्छ: ओली

३१ आश्विन २०७४, मंगलवार १३:५९

असोज ३१, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताएको छ ।

युवा सङ्घ नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला र विशेष प्रशिक्षण कार्यक्रममा ओलीले मुलुकको समृद्धिका लागि वाम गठबन्धन र एकता अपरिहार्य आवश्यकता रहेको हुँदा यसलाई सबैले इमान्दार भएर सफल बनाउनु पर्ने बताएका छन् ।

अध्यक्ष ओलीले वाम गठबन्धनका विरुद्ध अर्को शक्ति एक भए पनि केही गर्न नसक्ने बताउँदै वामतालमेलबाट प्रतिक्रियावादी आत्तिएका र उनीहरु एक भए पनि वामपन्थी एकतामा कुनै असर नपर्ने बताए । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने विश्वास समेत व्यक्त गर्दै उनले मुलुकमा शान्ति र समृद्धि चाहेको छ सही विचार, नीति, संगठन र देशप्रेमी भावना भएकाले एमालेले जनताको विश्वास जित्न सकेको बताए ।

सो अवसरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आवश्यकता र पार्टी हितका लागि माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको बताउँदै निर्वाचन नगर्ने षड्यन्त्रमा नेपाली काँग्रेसले नयाँ गठबन्धन बनाइरहेको आरोप लगाए ।

नेता नेपालले प्रधानमन्त्री शेरवहादुर देउवाले निर्वाचन आचारसिंहता विपरित मन्त्रिमण्डल विस्तार गरेर लोकतन्त्रको खिल्ली उडाएको बताउँदै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई जिताउन सबैमा आग्रह समेत गरेका छन् ।