वाम गठबन्धनः सिट बाँडफाँड र घोषणापत्र लेख्न समिति तोकियो

१९ आश्विन २०७४, बिहीबार ०३:४७

असोज १९, काठमाडौं । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको एकता संयोजन समितिले उम्मेदवारीका लागि क्षेत्र बाँडफाँड र संयुक्त घोषणापत्र तयार गर्न छुट्टाछुट्टै समिति बनाएको छ ।

एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले समितिहरू बनाएको हो । उम्मेदवारीका लागि क्षेत्र निर्धारण समितिमा एमाले र माओवादी केन्द्रबाट तीन–तीन र नयाँ शक्तिबाट एकसहित सात सदस्य रहेका छन् ।

संयुक्त घोषणापत्र मस्यौदा समितिमा एमालेबाट तीन, माओवादी केन्द्रबाट तीन र नयाँ शक्तिबाट दुईसहित आठ सदस्य रहेका छन् । समितिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कुन पार्टीले कुन–कुन क्षेत्रमा कति सिट पाउने भन्ने टुंगो लगाउनेछ ।  प्रदेश र प्रतिनिधिसभाका लागि तीनवटै पार्टीका एजेन्डा समेटिनेगरी संयुक्त घोषणापत्र तयार पारिनेछ । दुवै समितिमा पदाधिकारी तह र प्रभावशाली नेताहरू समेटिएका छन् । ‘समितिले छिटोभन्दा छिटो काम सम्पन्न गर्छ’ गौतमले भने ।,

आठ सदस्यीय एकता संयोजन समितिमा ओली र प्रचण्ड संयोजकको हैसियतमा रहेका छन् भने बाँकी सदस्यका रूपमा रहेका छन् ।

को–को छन् संयोजन समितिमा

एमाले ः केपी ओली (संयोजक), माधव नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल,

माओवादी केन्द्र ः पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल,

नयाँ शक्ति पार्टी ः डा. बाबुराम भट्टराई

घोषणापत्र मस्यौदा समिति
वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीमबहादुर रावल, देव गुरुङ, प्रदीप ज्ञवाली, विश्वभक्त दुवाल, डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा

६०–४० क्षेत्र निर्धारण समिति
ईश्वर पोखरेल, रामबहादुर थापा (बादल), विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, मातृका यादव र गंगा श्रेष्ठ

 

बिहीबार दुवै समितिको बैठक
घोषणापत्र र क्षेत्र बाँडफाँडका लागि दुवै समितिको बैठक बिहीबार बिहान ९ बजे माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । बिहीबारकै बैठकले मोटामोटी खाका तयार गर्ने नेताहरूले दाबी गरेका छन् ।

एकता घोषणाबारे बैठकमा एसएमएस रिपोर्टिङ
एकता समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्षता गर्दै बैठक सुरु गर्न ओलीलाई आग्रह गरेका थिए । नेताहरूबीचको समझदारीअनुसार अबदेखि बैठकको अध्यक्षता ओलीले नै गर्नेछन् । बैठकमा एकताको घोषणाले जनतामा उत्साह आएको भन्दै नेताहरूले मोबाइलमा आएका बधाई सन्देश देखाएका थिए । ‘एकतालाई बौद्धिक क्षेत्रले सचेत तरिकाले विश्लेषण गर्दै सही भनेको छ, कतै बिथोलिने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । एसएमएस आएको देखाएर बैठकमा आपसमा खुसी पनि साटियो,’ एक नेताले भने ।