राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित

२२ आश्विन २०७४, आईतवार १०:४५

काठमाडौँ, २२ असोज । आजको व्यवस्थापिका–संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, बैठकले ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ लाई पनि सर्वसम्मतिले पारित ग¥यो ।

यसैगरी, संसद्को आजको बैठकले ‘महिला आयोग विधेयक, २०७४’ पनि सर्वसम्मतिले पारित गरेको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहित उक्त विधेयक सदनमा प्रस्तुत भएको थियो । अर्को संसद्को बैठक यही असोज २४ गते दिउँसो १ बजे बस्न भएको छ ।