बन्दूकको खुला व्यापार नियन्त्रणका लागि अमेरिकामा बहस

२० आश्विन २०७४, शुक्रबार ०३:०३

असोज २०, वासिंटन । अमेरिकामा खुल्ला बन्दुक व्यापार र त्यसको दुरुपयोगबाट एकपछि अर्को गर्दै अनाहकमा मानिस मारिन थालेपछि बन्दूक व्यापार नियन्त्रणका लागि फेरि बहस थालिएको छ ।

 

स्वयं बन्दूक व्यापारीहरुको संस्था नेशनल राइफल एशोसिएशन (एनआरए)ले बन्दूक दुरुपयोग रोक्न थप नियमन जरुरी भएको जनाएको छ । बन्दूक नियन्त्रणको विरोधमा उभिँदै राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि लस भेगस गोलीकाण्डपछि बन्दूक नियन्त्रण गर्नुपर्ने पक्षमा झिनो आवाज उठाउन थालेका छन् ।

उनले छोटो समयका लागि साना हतियारमा प्रतिबन्ध लगाउन सकिन्छ कि भनेर आफूहरुले विचार गरिरहेको बताएका छन् । यद्यपि, अमेरिकी राजनीतिलाई समेत आफूअनुकूल नचाउनसक्ने हैसियत राख्ने बन्दुक व्यापारीहरुको यो संस्थाको चलखेलकै कारण पटक पटक गरिएका प्रयासहरु विफल बन्दै आएका छन् ।

बेलगाम बन्दै गएको बन्दूक दुरुपयोग रोक्नका लागि डेमोक्रेटिक पार्टीले गरेका पटक पटकको प्रयास विफल बनाउन यस संस्थाको अहम् भूमिका रहने गरेको थियो । रिपब्लिकन पार्टीलाई डेमोक्रेट्सको यस अभियानमा साथ दिन रोक्न पनि यस संस्थाले ठूलो आर्थिक लगानीसमेत गर्ने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

डेमोक्रेट्स सांसदहरुले कानून बनाउनका लागि संसदमा दिएका धर्नाहरु पनि नाकाम बनेका थिए । अहिलेका राष्ट्रपति ट्रम्पलाई चुनाव जिताउन यस संस्थाले ठूलो आर्थिक लगानी गरेको दावी गरिन्छ ।

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले बन्दूक नियन्त्रण गर्ने कानून ल्याउन ठूलो पहल गर्दा रिपब्लिकनहरुको अवरोधकै कारण सम्भव भएको थिएन । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा रिपब्लिकनको पकड भएकाले पनि डेमोक्रेटहरुको योजना सफल हुन सकेको छैन । एनआरएले पनि आम सर्वसाधारण मारिने ठूला घटना भएका बेला चूप बस्ने वा बन्दुक कारोबार रोक्न रणनीतिक संस्था र व्यक्तिलाई लगानी गर्ने गरेको छ । हिंसाको घटना सेलाउँदै गएपछि फेरि बन्दूक कारोबार फस्टाउने गरेको छ । (एजेन्सी)