नयाँ शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा विद्यालय आफैँले सञ्चालन

१४ कार्तिक २०७४, मंगलवार १७:२६

कात्तिक १४, काठमाडौं । आगामी २०७५ सालको शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन नगर्ने भएको छ । सो परीक्षा अब विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ ।

कानुनमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ । हाल कक्षा १० को वार्षिक परीक्षा (एसईई) बोर्डको अनुमतिमा परीक्षा नियन्त्रण कार्यालयले तथा कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले भने “अब कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी विद्यालयलाई नै दिने भएका छौँ, जतिसक्दो छिटो त्यो जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छौँ । ”  उनले हालको परीक्षा नियन्त्रण कार्यालयलाई अभिलेखालयका रूपमा विकास गरिने प्रस्ट पारे। “परीक्षा नियन्त्रण कार्यालयमा १९९० सालदेखि हालसम्ममा प्राप्ताङ्कका अभिलेख भएकाले त्यसलाई अभिलेखालयका रूपमा विकास गर्नु उचित ठानेका छौँ”, अध्यक्ष डा. पौडेलले बताए।

बोर्डले यसै वर्षबाट कक्षा ११ को नतिजा अक्षराङ्कन ९लेटर ग्रेडिङ० पद्धतिका आधारमा सार्वजनिक गर्ने भएको छ । बोर्डका सदस्यसचिव लक्ष्मीराम पौडेलले हालको मूल्याङ्कन प्रणाली वैज्ञानिक नभएको तर्क गर्दै उत्तीर्ण र अनुत्तीर्ण व्यवस्थालाई हटाउन खोजिएको बताए। यस वर्षको कक्षा ११ को परीक्षा गत असारमा सञ्चालन गरिएको थियो र आगामी मङ्सिरमा नतिजा सार्वजनिक गरिँदैछ ।
अध्यक्ष पौडेलले ‘सिङ्गल सब्जेक्ट सर्टिफिकेसन’को पनि थालनी गरिने जानकारी दिए । उनका अनुसार समग्र नतिजालाई जीपीएका आधारमा विश्लेषण गरिनेछैन ।
हालसम्म पनि बोर्डको प्रदेश–६ मा क्षेत्रीय कार्यालय स्थापना हुन सकेको छैन । उनले अब सबै प्रदेशमा छिटै प्रादेशिक संरचना स्थापना गरिने बताउँदै प्रादेशिक निकायले कक्षा १० को परीक्षा (एसईई) सञ्चालन गर्ने बताए । “आगामी वर्षबाटै बोर्डको प्रादेशिक निकायले एसईई परीक्षा सञ्चालन गर्ने गरी तयारी गर्दैछौँ, त्यसपछि हालको पनिका स्वतः खारेज हुनेछ”,

यसैबीच बोर्डले कात्तिक १६ देखि १८ गतेसम्म धुलिखेलमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । सम्मेलनमा नेपालबाहेक भुटान, भारत, पाकिस्तान, मरिसस, सिङ्गापुर र बेलायतका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनले परीक्षा बोर्डको मूल्याङ्कन विधिका बारेमा नयाँ अवधारणा तय गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।