देवनारायणलाई छुटाउन नेपाली अधिकारी कुनौलीमा

१७ आश्विन २०७४, मंगलवार ०९:५१

१७ असोज, सप्तरी । छोरालाई छुटाउन जाँदा भारतीय प्रहरीद्वारा शनिबार नियन्त्रणमा लिइएका सप्तरीका देवनारायण यादवलाई छुटाउन नेपाली अधिकारीको टोली भारतको कुनौलीमा पुगेको छ । त्यहाँ बाबुछोरालाई छुटाउने सम्बन्धमा नेपाल र भारतका अधिकारीबीच छलफल भएको बताइएको छ ।

 

सप्तरीका सुरक्षा अधिकारीहरुले विहारको सुपोल जिल्लामा पर्ने कुनौली थाना पुगेर भारतीय अधिकारीहरुसँग कुराकानी गरेका छन् । अधिकारीहरुका अनुसार देवनारायण र उनका छोरालाई आजै वीरपुरस्थित अदालतमा पेश गरिँदैछ ।

 

उनीहरुविरुद्ध अपहरण मुद्दा चलाइएको छ । देवनारायणकी बुहारी ज्योती साहलाई पनि अदालतमा पेश गरिनेछ । अधिकारीहरुका अनुसार आधार कार्डबाट ज्योती नाबालिग नभएको खुलेको छ र देवनारायण बाबुछोरा छुट्ने सम्भावना छ ।

 

देवका छोराले भारतकी ज्योतीलाई करिव ४ महिना अघि नै भगाएर विवाह गरेका थिए । त्यसबेला नै देवनारायण बाबुछोरासहित चार जनाविरुद्ध अपहरण मुद्दा चलाइएको थियो ।

 

तर, दशैंको बेलामा ‘अर्केस्ट्रा’ नाच हेर्न शनिबार सीमा पारी गएका बेला देवनारायणका छोरालाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनलाई छुटाउन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले हिरासतमा लिएको छ ।