देउवाले सातौंपटक मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै

२७ आश्विन २०७४, शुक्रबार १३:५२

असोज २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सातौंपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

उनले शनिबार राप्रपाका ४ मन्त्री तथा ४ राज्यमन्त्री थप्ने तयारी गरेका हुन् । स्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापा उपप्रधामन्त्री, दिलनाथ गिरी, विक्रम बहादुर थापा र जयन्त चन्दलाई मन्त्री बनाउने निर्णय गर्दै सपथका लागि राष्ट्रपति कार्यालय पठाइएको छ ।

त्यसैगरी कुन्ती कुमारी शाही, भास्कर भद्रा, कान्ता भट्टराई र सुशील श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णय देउवाले गरेका हुन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको नाम शुक्रबारनै राष्ट्रिपति कार्यालयमा पठाइएको उच्च स्रोतले जानकारी दियो ।

 

तर, राष्ट्रपति कार्यालयले सपथका लागि समय तय गरिसकेको छैन । देउवाले सबैलाई हाल विना विभागीय मन्त्रीको रुपमा नियुक्ती गरेका हुन् । शुक्रबार नियुक्तीमा परेका विक्रमबहादुर थापाले यसबारे आफूले आधिकारिक जानकारी प्राप्त नगरेको बताए । उनले सरकारमा जाने वा नजाने निर्णय लिने जिम्मा अध्यक्षलाई दिएकाले यसबारे अहिलेसम्म जानकारी नभएको बताए ।

निर्वाचन आचारसंहिताले मन्त्रिपरिषद् विस्तार गर्न रोक लगाएको भन्दै राष्ट्रपतिले कुनै जवाफ नदिएको स्रोतले जानकारी दिएको छ । “प्रधानमन्त्री कार्यालयले नाम सिफारिस गरेको छ,” स्रोतले भन्यो, “तर सपथका लागि राष्ट्रपति कार्यालयबाट समय तोकिएको छैन ।”