तरकारी बेचेर कुलेश्वरमा घर

‘कसरी हो काँक्रा ?’ ग्राहकले सोधेपछि मुस्काराइन् उनी । एकैछिन् रोकिएर तिन थरी काँक्रा देखाउँदै ‘१ सय ५०, टिन सय; यो पान सय’ भनिन् । म रोकिएँ । ग्राहकहहरू एकैछिनमा एक ढक (पाँच किलो) काँक्रा लिएर फर्किए । उनी फेरि फुर्सदिलो भइन् । अनि मेरो प्रश्नको पोका फेरि खोलेँ । उनले छोटो छोटो जवाफ मुस्कुराउँदै फर्काइन् ।


उनलाई आफ्नो उमेर ठ्याक्कै यति नै हो भनेर थाहा छैन । तर ५५/५६ वर्षअघि भक्तपुरको ठिमीमा जन्मिएको जस्तो लाग्छ उनलाई । त्यही बेला बाआमाले राखेको नाम हो तुल्सीमाया महर्जन । महर्जन थरका यसै पनि कृषि कर्म गर्ने हुन् भन्थे । जेसुकै काम गरे पनि अझै भन्ने चलन उही हो । उनी पनि त्यही किसान परिवारमा जन्मिइन् । पछि किसानबाट किनेको तरकारी बेच्न थालिन्, कालिमाटीको तरकारी बजारमा । सायद थरझैँ किसानीमै हुर्किन् र आफ्नो जीवनको उत्तरार्धसम्म त्यही किसानसँग जोडिएर रहेकी छिन् ।

उनी आफ्नो श्रीमान्सँग तरकारी व्यापार गर्न थालेको पनि आज ३० वर्ष नाघिसकेको छ । देशकै ठुलो तरकारी बजार कालिमाटीको ठूलो बजार नबनेका बेला अर्कापट्टि थियो उनको पसल । अहिले नयाँ ठाउँ बनेपछि मासिक २० हजार भाडामा एउटा स्टल छ उनको । यो ३० वर्षभरिमा कुलेश्वरमा एउटा घरसमेत किनेका छन् दम्पतीले । नत्र बिहान ३ बजे कालिमाटीमा ठिमीबाट आइपुग्न गाह्रो हुन्थ्यो । त्यसैले घर किन्नुभन्दा पहिले भाडामा बस्नु परेको थियो । अहिले उनी बिहान ३ बजे नै श्रीमान्सँग बजार आइपुग्छिन् । अनि बिहानभरि ग्राहकसँग रमाउँदै तरकारी बेच्छिन् । घरिघरि श्रीमान् आउँछन् । सघाउँछन् । उनीहरू पालैपालो बेलुका ७/८ बजेसम्मै पसलमा बस्छन् । छोराको पनि तरकारी पसल नजिकै छ । कहिलेकाहीँ उसले पनि सहयोग गर्छ । खासगरी हिसाबकिताब राख्न सहयोग गर्छ उसले । दुई छोरीहरू कुटुम्ब घर गइसके ।

उनी देशकै ठूलो सहर काठमाडौँ उपत्यकामा जन्मिए पनि स्कूलको आँगन टेक्न पाइनन् । उनका सङ्गीहरू स्कूल जान्थे । उनलाई पनि स्कूल जाने मन हुन्थ्यो । तर आमाले ‘स्कूल जा’ कहिल्यै भनिन् । बरु ‘किन स्कूल जाने ? बरु खेत जानू’ भनिन् । ‘के गर्नु, उबेला स्कूल जान पाइएन’ गम्भीर हुँदै उनी भन्छिन्, ‘आमाले खेतमा चैँ कसले काम गर्छ भन्नुभो, गइन स्कूल ।’ स्कूल जान नपाएकैले उनी हिसाबकिताब राख्न जान्दिनन् । उनी भन्छिन्, ‘अक्छेर नजानेरै मोबाइल पनि बोकेको छैन ।’

व्यापारमा घाटा र नाफा उनले भोगेकी छिन् । अहिलेभन्दा पहिले निकै नै नाफा हुन्थ्यो । अहिले धेरै पसल भएकाले प्रतिस्पर्धा निकै हुन्छ । ग्राहकलाई रिझाउन सकिएन भने घाटा पनि हुन्छ । त्यसैले कहिले काउली, फर्सी त कहिले काँक्रा बेच्छिन् उनी । खासमा उनी सिजनअनुसार तरकारी बेच्छिन् । तर एउटै बोराको सामान थरीथरी मूल्य गरेर बेच्दा तीतो अनुभव हुन्छ उनलाई । उनी भन्छिन्, ‘यो काँक्रा हामीले किन्दा एउटै मूल्यमा किनेको, बेच्दा यी टिन ठरी गरेर बेच्नु पर्छ । घाटा हुन्छ ।’ आलु बेच्दाको पनि उही अनुभव छ उनलाई । अनि कहिलेकाहीँ ढकको १० देखि २० रुपैयाँसम्म घाटा र नाफा पनि भएको छ । काँक्रा जति घाटा आलुमा नभए पनि उधारोले घाटा भयो उनलाई । थुप्रैले उधारो लगे । कतिले दिए त कयौँले दिएनन् । यसै बिर्सिए वा दिन चाहेनन्, कि घाटा भएर दिन सकेनन् !

तरकारी व्यापारमा हरेक दिन यताउता गरिरहेने भएकाले मासिक कति कमाई हुन्छ भनेर लेखा राखेकी छैनन् तुल्सीमायाले । ‘मैनाको हिसाब हुँडैन’, उनी भन्छिन्, ‘कैले नाफा हुन्छ कैले घाटा हुन्छ । खास हिसाब नै गरेको छैन ।’
जे होस् उनी तरकारी बेचेरै घर किन्न सकेको र अहिले यसैबाट जिविको पार्जन गर्न सकेकोमा निकै खुसी छिन् ।

(आयोखबरका सहकर्मी सन्तोष निराले गरेको कुराकानीका आधारमा)


प्रकाशित | २०७४ कार्तिक १२ प्रकाशित १०:५९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ