चुनावको सुनिश्चितताकै लागि राप्रपा सरकारमा: उपप्रधानमन्त्री थापा

१ कार्तिक २०७४, बुधबार ०८:३०

१ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष एवम् उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि आफहरुू सरकारमा सामेल भएको बताएको छ ।

ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दैं उपप्रधानमन्त्री थापाले भने-“त्यसबेला पनि मधेसवादी दलले सरकार छोडेपछि अल्पमतमा परी चुनाव नहुने वातावरण बनेको थियो, हामी सरकारमा गएर चुनावको माहोल बनायौँ, अहिले पनि सरकारको साझेदार दल माओवादी प्रतिपक्षी गठबन्धनमा मिसिएपछि चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन सरकारमा सहभागी भएका हौँ”।

उनले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा सरकारमा गएको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम तोकिएकै समयमा चुनाव हुने प्रतिबद्धता आफूसँग पटक पटकको भेटमा जनाएको समेत बताएका छन्।

चुनावसम्म अहिलेकै कार्ययोजना अघि बढाउने, नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा विद्यत् भार कटौती (लोडसेडिङ) हुन नदिने, हाल सञ्चालित आयोजनालाई निरन्तरता दिनेलगायत योजनाका वारेमा जानकारी दिदैं उपप्रधानमन्त्री थापाले अन्य दलले जस्तोसुकै गठबन्धन गरेर सरकारमा गए पनि चर्चा नहुने तर राप्रपा सरकारमा जाने वित्तिकै विभिन्न खाले हल्ला चल्ने गरेको बताए ।

बाम गठबन्धपछि प्रजातान्त्रिक शक्तिका बीचमा सहकार्य र एकता अनिवार्य बन्न गएको समेत उनको भनाई छ । विसं २०६२/६३ को परिवर्तनपछि राप्रपा तेस्रोपटक सरकारमा सहभागी भएका हुन् ।