चालु आर्थिक वर्षको पहिलो महिनामै ७० अर्ब ६० करोड व्यापार घाटा

१८ आश्विन २०७४, बुधबार १४:४६

असोज १८, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै ७० अर्ब रुपैयाँ बढीको व्यापार घाटा भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामै ७० अर्ब ६० करोड रुपैयाँको व्यापार घाटा पुगेको जनाइएको हो ।

 

यो महिना ७७ अर्ब २८ करोड वस्तु आयात भएकोमा निर्यात भने मात्र ६ अर्ब ६८ करोडको भएको हो । समीक्षा अवधिमा भारततर्फ १० प्रतिशतले निर्यात घटेको छ भने चीनतर्फ ११ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले निर्यात बढेको केन्द्रीय बैंकले जनाएको छ ।  वस्तुगत आधारमा जस्तापाता, धागो, तयारी पोसाक, पिनालगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैंचा, पोलिस्टर धागो, टुथपेस्ट, अलैंचीलगायतका वस्तुहरुको निर्यात घटेको छ ।

 

समीक्षा अवधिमा भारतबाट ९ प्रतिशत, चीनबाट १४ प्रतिशत र अन्य मुलुकबाट ७.१ प्रतिशतले आयात बढेको छ । व्यापार घाटा अघिल्लो वर्षको यसै अवधिमा १३.६ प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले वृद्धि भइ ५५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाहमा २.५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ४।९ प्रतिशतले वृद्धि भइ ६२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २.५ प्रतिशतले घटेको थियो ।