‘घरभित्र कोही थियो सँघारमा कोही रैछ, मुटुभित्र कोही थियो निधारमा कोही रैछ ।’ यसरी जम्यो ‘महफिल’

कात्तिक १२ काठमाडौं । ११औं शृंखलाबाट बन्द गर्ने भनिएको गजल कार्यक्रम ‘महफिल’ ले अब अनन्त यात्रा गर्ने भएको छ । शनिबार आयोजित ११औं शृंखलामा रवि प्राञ्जल र करुण थापासँगै न्ह्यु वज्राचार्य र सचिन सिंह प्रस्तुत भएपछि महफिलले बेग्लै उचाइ पाएको भन्दै आयोजक हौसिएका छन् ।सर्वनाम थिएटर, उर्वरा फाउन्डेसन, साहित्य परिवार र मधुवनको संयुक्त आयोजनामा हरेक दुई महिनामा आयोजना हुने महफिलमा यसपालि रवि र करुणका गजल सुनिएका हुन् ।

‘घरभित्र कोही थियो सँघारमा कोही रैछ
मुटुभित्र कोही थियो निधारमा कोही रैछ ।’

करुणको गजलका यी शेरले कार्यक्रमको सुरुआत नै प्रेमिल बनाइदिएको थियो । रवि प्राञ्जलले गजलको सुरुआत यस्तो शेरबाट गरेका थिए

‘पुगेथेँ म टाढा उनी सम्झी आएँ
त्यो बितिसकेको जुनी सम्झी आएँ ।’

गजल वाचनबाटै ओजिलो बनेको महफिलको माहोल संगीतकार तथा गायकद्वय न्ह्यु र सचिनले उत्कर्षमा पुर्‍याइदिए । हातमा गितार बोकेर आँखा चिम्लिँदै गजलका शब्दशब्दमा डुबेर गाए पनि न्ह्युले आफूलाई ‘बलिको बाख्रो’ भनिरहेका थिए । उनको ठट्यौलो शैलीले महफिललाई पनि रसिक बनाइदिएको थियो । बेलाबेलामा ठट्यौलो पारामा सोधिरहेका थिए, ‘हामीले गाएको गजल गजलजस्तै भा’छ ?’ सचिनले ‘फूलको पिर’ गजल गाएर कार्यक्रमको बिट मारे ।
महफिलको शनिबारको प्रस्तुति फरक स्वादको थियो । दुई गायकसँग जमेको थियो, हेमन्त रसाइलीको सारंगी । दर्शकको ताली र ‘वान्स मोर’सँगै गजलमा सारंगीको र्‍याइँर्‍याइँले भरेको मिठासलाई औधि मन पराइएको थियो ।
महफिलमा यसअघि दिनेश गौतम, सुवास अगम लगायतका गायक र रावत, शीतल कादम्बिनी, कपिल अज्ञात, सुधा शाही, टीकाराम भण्डारी, बाबु त्रिपाठी लगायतका गजलकार प्रस्तुत भइसकेका छन् ।


प्रकाशित | २०७४ कार्तिक १२ प्रकाशित ०५:४३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ