गाडीभित्रै धारा, जहाँ आउँछ शुद्ध पिउने पानी (भिडियोसहित)

८ कार्तिक २०७४, बुधबार ०८:१६

कात्तिक ८, काठमाडौँ । के तपाईँ पत्याउनुहुन्छ ? यस्तै केही वर्षअघिसम्म अकल्पनीय कुरा पत्याउनुपर्ने भएको छ । मानिस तथा सामान ओसारपसारमा मात्र प्रयोग हुदै आएको गाडीभित्रै अब शुद्ध पिउने पानी प्रशोधन हुने भएको छ ।

हामीले दिनहुँ चढ्दै आएको गाडीबाट प्रशोधित पिउने पानी उत्पादन सक्छ भन्ने केही वर्षअघिसम्म कसले पत्याउँथ्यो ! विश्वकै पुरानो मोटर कम्पनी फोर्डका इन्जिनियर डग मार्टिनले यसैलाई सत्य साबित गरेका छन् ।

मार्टिनले केही वर्षअघि एउटा लेख पढेका थिए । पेरुको लिमामा सडकछेउ झुन्ड्याइने होर्डिङ बोर्डबाट कसरी साताको सयौं लिटर पानी उत्पादन भइरहेको छ भन्ने उक्त लेख पढेर मार्टिन प्रभावित भए ।

यसमा ठूलो वैज्ञानिक आविष्कार केही थिएन । समुन्द्री तटबाट बहने हावा जब होर्डिङ बोर्डमा पथ्र्यो, त्यसमा रहेको बाफ विस्तारै पानीमा परिणत हुन्थ्यो । र, भुइँमा तर्रर बग्थ्यो । सधैं यसरी खेर गइरहेको पानीलाई नै संकलन र प्रशोधन गरी पिउनयोग्य बनाइएको थियो ।

‘त्यहाँका मान्छे होर्डिङ बोर्डबाट उत्पादित शुद्ध पिउनेपानी भरेर घर लैजान्थे,’ मार्टिनले भने, ‘यसले उनीहरूलाई धेरै फाइदा भइरहेको थियो ।’

पानी उत्पादन गर्ने यो विधिले इञ्जिनियर मार्टिनलाई सोचमग्न बनायो । उनले ठाने, ‘होर्डिङ बोर्डबाट यसरी पानी उत्पादन हुनसक्छ भने कारबाट पनि हुन सक्ला ! होर्डिङ बोर्डमा ठोक्किएपछि जसरी बाफमा रहेको पानीको कण छुट्टिन्छ, त्यही काम कारको एअरकन्डिसनरबाट पनि गराउन सकिन्छ ।’

उनले यो ‘आइडिया’ आफ्ना सहकर्मी जोन रोलिंगरलाई सुनाए । रोलिंगर उत्साहित भए ।

उनीहरूले कारको एअरकन्डिसनरबाट निस्कने बाफलाई कसरी पानीको कणमा परिणत गर्न सकिन्छ भन्ने अनुसन्धान थाले । कम्तीमा कारभित्र सवार यात्रुलाई पिउन पुग्ने पानी उत्पादन गर्नु उनीहरूको उद्देश्य थियो ।

‘धेरै दुर्गम गाउँ यस्ता छ, जहाँ स्वच्छ पिउने पानी उपलब्ध हुँदैन,’ मार्टिनले भने, ‘अमेरिकाका बजार क्षेत्रमै धेरै मान्छे यस्ता छन्, जो बोतलको पानीको सट्टा स्वच्छ र सफा पानी पिउन चाहन्छन् ।’

यही सोचाइले मार्टिन र रोलिंगरलाई कारबाट पिउने पानी उत्पादन गर्ने अनुसन्धानमा होमिन प्रेरित गर्यो र गाडीमा पानी उत्पादन हुने प्रविधिको आविष्कार गरेका छन् ।

उनीहरूले एअर कन्डिसनरमा भएको क्वाइलबाट चुहिने पानीका थोपा जम्मा गरे । सामान्यतया त्यस्ता थोपा गाडीबाट चुहिएर सडकमा बग्छन्। मार्टिन र रोलिंगरले विकास गरेको प्रणालीमा भने त्यो पानी फिल्टर हुँदै संकलन गर्ने भाँडोमा जम्मा हुन्छ ।

गाडीमा यात्रा गर्ने मान्छेलाई पानी पिउन मन लागे स्विच दबाएर निकाल्न सक्छन् । पानी आउने धारो गाडीको गियर बक्सनिर राखिएको हुन्छ । एअरकन्डिसनर क्वाइलबाट जम्मा हुने भएकाले पानी चिसो हुने रोलिंगर बताउँछन् ।

फोर्ड मोटर्सले अब यो प्रणाली व्यावसायिक प्रयोगमा ल्याउने तयारी गरिरहेको छ ।

यो त भयो, गाडीबाट पानी उत्पादन गर्ने सुविधा, जुन हामी निकट भविष्यमै प्रयोग गर्न पाउनेछौं ।