खड्कालाई तत्कालका नहटाउन सर्वोच्चको अन्तरिम आदेश

२२ आश्विन २०७४, आईतवार १४:३७

काठमाडौँ, २२ असोज । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपाल खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । जग्गा खरिद गर्ने क्रममा अनियमितता गरेको अभियोगमा संसदीय समितिले कारबाहीको सिफारिश गरेपछि गत असोज २ गतेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको थियो ।

तर खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिट निवेदनमा प्राकृतिक न्यायको सिद्धान्त विपरीत आफूलाई स्पष्टीकरणको मौकासमेत नदिई सरकारले निर्णय गरेको र चार वर्षका लागि नियुक्ति गरिएको र अझै डेढ वर्ष आफ्नो कार्यकाल बाँकी रहेको उल्लेख छ ।