काठमाडौं क्षेत्र नं. ३ मा पूर्वसाँसद फुयालले प्रदेशको लागि च्याखी थाप्दै

१२ कार्तिक २०७४, आईतवार १५:०१

कात्तिक १२, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समय नजिकिदै गर्दा दलहरु आ–आफ्नो उम्मेद्वारको नाम छनौट तथा घोषणा गरिसकेका छन् भने केही स्थानहरुमा सर्मथन र तालमेलका कारण उम्मेद्वार छान्न कठिनाई भईरहेका छन् । त्यस्तै काठमाडौ निर्वाचन क्षेत्र ३ मा पनि नेपाली काँग्रेस र एमाले–माओवादी गठबन्धनले उम्मेद्वार टुंग्याउन सकिरहेका छैनन् ।


त्यस्तै एमालेमा प्रदेशसभाका लागि केही क्षेत्रिय कमिटिका नेताहरुको नाम सिफारिस भएता पनि चुनावी तालमेलका कारण उम्मेद्वारीको नाम टुंगो लगाउन सकिरहेको छैन् । प्रतिनिधिसभा सदस्यका लागि भने एमाले काठमाडौ जिल्ला अध्यक्ष कृष्ण राईको नाम टुंगो लागिसकेको छ यसमा नेकपा माओवादी केन्द्रको साथ रहनेछ । प्रतिनिधिसभा सदस्यमा टुंगो लागिसके पनि प्रदेशमा भने समस्या उत्पन्न भएको एमाले निकट स्रोतले बताएको छ ।

सुरुमा प्रदेश क र ख को लागि एमाले क्षेत्रिय कमिटिले उम्मेद्वारीका लागि दावेदार नामहरु सिफारिस गरिसकेकोमा पछिल्लो समयमा बाम गठबन्धन बनिसकेपछि प्रस्तावित नामहरुमा ओझेलमा पारेको देखिन्छ । एमाले निकट एक व्यक्तिको अनुसार बाम गठबन्धन भएपनि काठमाडौंको हकमा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यका लागि निर्वाचन क्षेत्र ६, ८ र १० माओवादीलाई दिने अन्य क्षेत्रहरुमा एमालेले लिने भन्ने आधारमा एमाले जिल्ला कमिटिले क्षेत्रिय कमिटिहरुबाट आएको नाम सिफारिस गरिएको छ । प्रस्तावित क्षेत्र र नाम सिफारिस गर्दा क्षेत्र नं. ३ पनि एमालेलाई नै परेको थियो पछिल्लो समयमा आएर माओवादी केन्द्रलाई प्रदेश सभा सदस्य दिने कुराले एमालेभित्र खैलोभैलो चल्न थालेको छ ।

प्रदेश सभा क अर्थात् १ नम्बरमा प्रस्तावित नाममा क्षेत्रिय सचिवालय सदस्य विमल अर्याल, पार्टी केन्द्रिय लेखा आयोग सदस्य गोपाल बराल, मन्दिर तिमिल्सिना, गोकुल बराल लगाएत ६÷७ जनाको नाम जिल्लामा सिफारिस रहेको छ । प्रदेश ख अर्थात् २ मा भने हरिकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, उद्धब विष्ट, उद्धब खड्का लगाएतको नाम सिफारिस रहेको छ । पछि एकाएक पूर्व साँसद रामेश्वर फुयाँल पनि फेरि प्रदेशमा आउने खबर बाहिर आएको छ । जसको कारण एमालेवृत्तमा चलखेलको आरोप समेत लाग्न थालेका छन् । गठबन्धनपछि प्रतिनिधि सभा सदस्यका लागि एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको नाम टुंगिएपनि प्रदेश मिलाउन भने उनलाई नै सकस परेको छ । पार्टीभित्र प्रदेशसभा १ माओवादीलाई दिने कुरा बाहिर आएको र प्रदेश सभा २ एमालेकै उम्मेद्वारी स्वतः उठाउने भएपछि एमाले पार्टी कमिटिभित्र भूकम्प नै आएको छ ।

प्रस्तावित प्रदेश १ मा एमालेकै उम्मेद्वारी आउनुपर्ने व्यापक चर्चा चलेको बेला प्रदेश १ माओवादीलाई दिने र प्रदेश २ एमालेले लिने गरि पूर्व साँसद रामेश्वर फुयाल लगाएत केही नेता आफ्नो व्यक्तिगत स्वार्थका लागि क्रियाशिल रहेको आरोप लागेका छन् ।  पार्टीगत नीति र शैद्धान्तिक हिसावले नै प्रदेश सभा १ एमालेले पाउनुपर्ने आशाय एमाले क्षेत्रका नेता तथा कार्यकर्ताहरुको पाईन्छ । प्रदेश १ मा निरविकल्प एमाले रहेकाले विजयी बन्ने सम्भावना व्यापक रहेकाले प्रस्तावित निर्णय उल्टाएमा एमालेले दुःखद परिणाम बेहोर्नुपर्ने कुरा जनमानसबाट आएको छ । प्रदेश सभा १ मा विमल अर्यालको पहिलो लिस्टमा नाम सिफारिस परेको उक्त निर्णयले अर्याललाई नै उम्मेद्वारी बनाएर टिकट ल्याउने अन्तिमविन्दूमा देखिँदा बाम गठबन्धनको नाममा नेतृत्व तहमा रहेका केही नेताले आफु अनुकुल वातावरण तय गर्दै आएको गुणसो बाहिर आएको छ । अर्याल, बरालको नाम भने निर्णय सहित पार्टी जिल्ला समन्वय समितिबाट केन्द्रसम्म पुगेको खबर आएको छ ।

एमाले पार्टी पंक्तिकारका अनुसार बाम गठबन्धनलाई नै व्यवस्थापन गर्ने हो भने माओवादी केन्द्रलाई प्रदेश सभा ख अर्थात् २ मा उम्मेद्वार बनाउँदा सबै उम्मेद्वारको जीत सुनिश्चित हुने र पाटी एकताको लागि समेत बाटो खुल्ने बताएको छ । एमाले निर्वाचन क्षेत्रिय समन्वय कमिटिले पनि माओवादी केन्द्रबाट उम्मेद्वारको नाम बाहिर चर्चा संगै एमालेकै उम्मेद्वार हुदाँ मात्र जीत सुनिश्चित हुने तर्क सहित सर्वसम्मत रुपमा निर्णय गरी पार्टी केन्द्रमा पठाएको पनि बुझ्नामा आएको छ ।

त्यस्तै नेपाली काँग्रेसभित्र पनि नाम टुंग्याउन कठिन परिस्थिति देखिएको छ । प्रतिनिधि सभा प्रत्यक्ष उम्मेद्वारका लागि वर्तमान सहकारी तथा गरीवी निवारण मन्त्री समेत रहेकी अम्बिका बस्नेत र पार्टीमा क्रियाशिल समाजसेवी तथा नेपाली काँग्रेस केन्द्रिय स्वास्थ्य विभाग प्रमुख पर्शुराम पोख्रेलवीच उम्मेद्वार को बन्ने भन्ने चर्चा चलेको छ । पर्शुराम पोख्रेललाई क्षेत्रका १३ ओटै वडा समितिबाट सिफारिस गरिएको छ भने अम्बिका बस्नेतलाई ११ ओटा वडा कमिटिबाट मात्रै नाम सिफारिस गरिएको काँग्रेस निकट स्रोतले जानकारी दिएको छ । सिफारिसकै हिसावले हेर्ने हो भने पोख्रेल नै आउने प्रवल संभावना देखिन्छ र गठबन्धनका लागि चुनौति बन्न पुग्नेछ । मन्त्री बस्नेत आएमा गठबन्धनलाई सहज हुने पनि जनमानसमा कुरा चलेको छ ।  प्रदेशका सभाका लागि दिपक रिसाल र गर्जेन्द्र आले मामाको नाम सिफारिस भएको छ अहिले बस्दै गरेको पार्टी केन्द्रिय बैठकले नाम टुंगो लगाउने छन् ।