एसियन ईन्डोर तथा मार्सल आर्ट्स गेम्समा नेपालको प्रदर्शनबारे छानविन हुने

१८ आश्विन २०७४, बुधबार ०९:१८

असोज १८, काठमाडौं । तुर्कमिनिस्तानको अस्गाबातमा हालै सम्पन्न पाँचौ एसियन ईन्डोर तथा मार्सल आर्ट्स गेम्समा नेपालको प्रदर्शनबारे छानविन हुने भएको छ ।

 

प्रतियोगितामा नेपालका खेलाडीहरुको प्रदर्शन र व्यवहारमाथि छानविन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपले हिजो छानविन समिति गठन गरेको छ । राखेपका बोर्ड सदस्य गंगाबहादुर मगरको संयोजकत्वमा गठित छानविन समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

समितिमा रोखपका तालिम तथा प्रशिक्षण विभागका निर्देशन नविन उप्रेती, खेलकुद विकाश विभागका प्रसाशकिय अधिकृत ज्ञानेन्द्र श्रेष्ठ, प्रशाशन विभागका भोजानन्द राई र युवा तथा खेलकुद मन्त्रालयका उपसचिवस्तरका एक जना कर्मचारी सदस्य रहनेछन् ।
अस्गाबातमा भएको एसियन ईन्डोर तथा मार्शल आर्ट्स गेम्समा नेपालले कुनैपनि पदक जित्न सकेको थिएन भने केही नेपाली खेलाडीहरुले विभिन्न प्राविधिक कारण देखाँउदै प्रतिस्पर्धा गर्नै पाएका थिएनन् ।

प्रतियोगितामा सहभागि १८ नेपाली खेलाडीमध्ये तीन जनाले प्रतिस्पर्धा गर्नै छुटाएका थिए । यसैगरी तेक्वान्दो खेलाडी निमा गुरुङ समयमै अस्गाबात पुग्न नसक्दा उद्घाटन समारोहको मार्च पासमा उनले बोक्ने तय गरिएको नेपालको राष्ट्रिय झण्डा अर्का तेक्वान्दो खेलाडी बिर बहादुर महाराले बोक्नुपरेको थियो ।