शेष घले पत्नीद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी

२६ आश्विन २०७४, बिहीबार १४:३९

२६ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा वर्तमान अध्यक्ष शेष घलेका पत्नी जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन् ।

आज पत्रकार सम्मेलनको आयोजना गरी गरुङले आगामी शनिबारदेखि काठमाडौँमा शुरु हुन लागेको संघको महाधिवेशनमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले ‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र उद्देश्यका साथ शुरु भएको संघमा आफूले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने र महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरिन् ।

उनले संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कूटनीतिकस्तरमा अझ पारदर्शी रुपमा विकास गर्न र संघले अहिले निर्माण गरिरहेका मेगा परियोजनालाई समयभित्र सम्पन्न गराउन भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

‘विश्वभरीबाट आउनुभएका डेलिगेट्सहरुको आग्रह एवं गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई ध्यान दिँदै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु,’ उनले पत्रकार सम्मेलनमा उम्मेदवारी दिनुको कारण प्रस्ट्याउँदै भनेकी छन् ।