इपिएल क्रिकेटको मुख्य प्रायोजकमा मोटरसाइकल उत्पादक कम्पनी टीभीएस

८ कार्तिक २०७४, बुधबार ०८:३७

कात्तिक ८, काठमाडौँ । मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको दोस्रो संस्करणलाई मुख्य प्रायोजन गर्ने भएको छ । टीभीएसको नेपालस्थित आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्स प्रालि र ईपीएलबीच मंगलबार यससम्बन्धी सम्झौता भएको छ ।

दुवै पक्षले मुख्य प्रायोजनको रकम भने सार्वजनिक गरेका छैनन् । यद्यपि मुख्य प्रायोजक बनेबापत जगदम्बा मोटर्सले प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई एउटा टीभीएस मोटरसाइकल प्रदान गर्नेछ भने प्रतियोगिताको पहिलो हुने टोलीले प्राप्त गर्ने २१ लाख रुपैयाँको पुरस्कार रकम पनि प्रायोजन गर्नेछ । यसैगरी केही प्रचारात्मक सामग्रीमा पनि टीभीएसले आर्थिक सहयोग गर्ने सम्झौता भएको बताइएको छ । प्रतियोगिताको नाम पनि टीभीएस ईपीएल हुनेछ ।