आइतबारदेखि ठमेल “सवारीसाधनमुक्त क्षेत्र”

६ कार्तिक २०७४, सोमबार ०२:५२

कार्तिक ६, काठमाडौँ । राजधानीको ठमेललाई सवारीसाधनमुक्त क्षेत्र बनाइएको छ । ठमेललाई व्यवस्थित पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आइतबारदेखि सवारीसाधनमुक्त क्षेत्र बनाइएको खबर आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेल क्षेत्रलाई ‘भेहिकल फ्री जोन’ बनाइएको हो । ठमेल क्षेत्रमा प्रवेश गर्ने सवारीसाधनलाई विभिन्न स्थानबाट सञ्चालनमा रोक लगाइएको हो ।

महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार त्रिदेवी मार्गबाट ठमेलतर्फ आउने सवारीसाधनले मात्र प्रवेश पाउनेछन् भने अन्य मार्गबाट आउनेलाई प्रवेशमा रोक लगाइएको छ । ज्याठा र त्रिदेवी सडकखण्डलाई दुईतर्फी सञ्चालन गरिने भएको छ । क्षेत्रपाटीबाट जेपी मोड, ठँहिटी र ठमेल आउने सडकमा दुईपांग्रे सवारीसाधनलाई मात्रै दुईतर्फी सञ्चालन गर्न दिइनेछ ।

ठमेलबाट बाहिर जाने सवारीसाधन सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवती बहाल, अमृतमार्ग, टँहिटीबाट दाहिनेतर्फ भने जान पाउनेछन् । ठमेल क्षेत्र भित्रको सडकमा कुनै पनि सवारीसाधन पार्किङ गर्न नदिने र ट्राफिक संकेतको व्यवस्थापन गरी सवारी आवागमन अझ प्रभावकारी बनाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।
ठमेल महानगरपालिकाको वडा नम्बर १६, १७, २६ र २७ पर्छन् ।

प्रवेश निषेध गरिएका क्षेत्रका पसल तथा होटलमा सामान ओसारपसार गर्न ती सवारीसाधनलाई भने राति १० बजेदेखि बिहान ५ बजेसम्म चल्न दिइनेछ भने उक्त क्षेत्रभित्र घरधनीलाई सवारीसाधन लैजान पाउने गरी विशेष व्यवस्था गर्ने योजना ट्राफिकसँग छ । महानगरपालिकाले ठमेललाई ‘वाकिङ स्ट्रिट‘ बनाउन होटल मनाङदेखि काठमाडौं गेस्ट हाउससम्म साथै वैशाली होटलदेखि ठमेल मार्ग (भगवानपाउ मार्ग) सम्म सडक कालोपत्रे समेत गर्दै छ ।