३ उपमहानगरमध्ये दुईमा एमालेको अग्रता, एकको परिणम आउन बाँकी

३ आश्विन २०७४, मंगलवार १५:५१

असोज ३, बारा । प्रदेश नम्बर २ को ३ उपमहानगरपालिका मध्ये धनुषाको जनकपुर उपमहानगरपालिकामा भर्खरै मतगणना सुरु भएकोले मतपरिणाम प्राप्त भएको छैन ।

बाँकी २ उपमहानगरमा भने एमालेले अग्रता लिएको छ । बाराका दुई उपमहानगरमा एमालेले अग्रता लिएको छ । कलैया र जितपुर सिमरा दुवै उपमहानगरमा एमालेका उम्मेदवारले अग्रता लिएका हुन् । मंगलबार अबेर सुरु भएको मत गणनाको पछिल्लो परिणाम अनुसार कलैया उपमहानगरमा एमालेका मेयर पदका उम्मेदवार बिनोद साहलाई ३२ मत परेको छ भने उनलाई कांग्रेस उम्मेदवार राजेशराय यादवले २४ मतले पछ्याइरहेका छन् ।

दलका प्रतिनिधि र कर्मचारीको तालमेल नमिल्दा कलैया उपमहानगरको मत गणना अबेरदेखि सुरु भएको हो । यसैगरी जितपुरसिमरा उपमहानगरपालिकामा २ हजार २५० मत गणना हुँदा एमाले उम्मेदवार डा। कृष्ण पौडेल ८७५ मतले सबैभन्दा अगाडि छन् । उनलाई कांग्रेस उम्मेदवार कृष्णब्रत सिंहले ६०८ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल ५६६ मतका साथ तेस्रो स्थानमा छन् । कडा सुरक्षाका बीच यी दुई उपमहानगरमा मत गणना जारी छ । सञ्चारकर्मीलाई समेत समाचार संकलनमा लागि मतगणना स्थलमा जान दिइएको छैन ।