हङकङसँगको खेलका लागि पारसको कप्तानीमा नेपाली टिमको घोषणा

२१ भाद्र २०७४, बुधबार १३:०२
sport news from aayokhabar, latest news from kathmandu nepal, breaking news rom kathmandu nepal

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टिमको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा भएको हो ।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले बुधबार नेपाली क्रिकेट टिमका खेलाडी छनोट गरेका हुन् । छनोट हुने खेलाडीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, मेहबुब आलम र  सोमपाल कामी रहेका छन् ।

सागर पुन, विनोद भण्डारी, करण केसी, जितेन्द्र मुखिया, शुशिल कंडेल, कुशल भुर्तेल, सुसन भारी, नरेश बुढाएर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा अटाएका छन् । नेपाली टोलीमा कुशल भुर्तेलले पहिलो पटक स्थान बनाएका छन् ।

क्लोज क्याम्पबाट अन्तिम १४ र ४ जना बैकल्पिक खेलाडी सहितको टिम भने केही दिनमा टुंगो लाग्ने मुख्य प्रशिक्षक जगत टमाटाले बताए । विगत १ बर्षभरि खेलाडीले गरेको प्रदर्शनको आधारमा करिब १ महिना अगाडी २५ जना खेलाडीको प्रारम्भिक रुपमा छनोट गरिएको थियो ।

मुख्य प्रशिक्षक जगत टमाटाले राम्रो अभ्यास भई रहेको बताए । उनले भने “हाम्रो अभ्यास राम्रो भई रहेको छ । हामीले हङकङलाई पराजित गर्दै आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम ४ मा रहने सम्भावनालाई कायमै राख्नु छ । हामी शतप्रतिशत जित निकाल्ने लक्ष्यमा हुने छौं ।”

अन्य देश भ्रमणका लागि पनि तयारीमा रहेको मुख्य प्रशिक्षक टमाटाले बताए । उनले थपे “हामीले आईसीसीसामु बंगलादेश र भारत मध्ये एक देशमा भ्रमण मिलाउन आग्रह गरेका थियौं । आईसीसीले हामीलाई भारतको चेन्नाईमा अभ्यासका लागि भ्रमण गराउने तयारी गरीरहेको छ ।”

नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैठौ चरणको खेल अन्तर्गत हङकङसंग उसैको घरेलु मैदानमा आगामी अक्टोबर १३ र १५ तारिखमा खेल्दैछ ।

च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको छ । च्याम्पियनसिपमा हङकङ चौथो स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड रहेका छन् ।

नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नै पर्ने हुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ ।