राष्ट्रिय र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा सुरवीरले लिए उपाधि

३ आश्विन २०७४, मंगलवार १३:५८

असोज ३, भक्तपुर । बुद्धिचालका राष्ट्रिय खेलाडी सुरवीर लामाले भक्तपुरमा मंगलबार गरिएको राष्ट्रिय र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

नेपाल क्रान्तिकारी युवा संघको २७ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा ६ दशमलव ५ अंकका साथ प्रथम हुँदै लामाले उपाधि हात पारेका हुन्। स्वीस लिगअन्तर्गत खेलाइएको सात राउण्डको प्रतिस्पर्धामा लामाले ६ जना प्रतिद्वन्द्वीलाई माथ खुवाएका थिए भने एकजनासँग अंक बाँडेका थिए। जसअनुसार प्रतियोगिताको सुरुवाती राउण्डमै लामा चितवनका सुमित पन्तसँग बराबरीमा रोकिएका थिए।

पहिलो राउण्डमै बराबरीमा रोकिएपछि सम्हालिएका लामाले बाँकी ६ वटै राउण्डमा प्रतिद्वन्द्वीलाई माथ खुवाउँदै अन्ततः उपाधि जित्न सफल भए। उनले उपाधिसँगै पन्ध्र हजार नगद पुरस्कारसमेत हात पारे। २०८० रेटिङ प्वाइन्ट रहेका लामाले उक्त प्रतियोगिताबाट २६ अंक बटुल्न सफल भएको आर्विटर निरञ्जन प्रजापतिले जानकारी दिए।  प्रतियोगितामा ५ दसमलव ५ अंक ल्याउन सफल धनुषाका हिमाल लामा दोस्रो भए। पहिलो दिन भएका तीन राउण्डमा अविजित रहेका लामा पाँचौं राउण्डमा क्षितिज भण्डारीसँग बराबरीमा रोकिँदा छैटौं राउण्डमा च्याम्पियन सुरवीर लामासँग हारे। चौथौ र सातौ राउण्डमा भने क्रमशः भक्तपुरका भेट्रान गणेशमान दुवाल र चितवनका सुमित पन्तलाई माथ खुवाए।

उपविजेता बन्न सफल लामाले सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउन बाध्य भए। उनले ४१ रेटिङ प्वाइन्ट पाए।
त्यस्तै समान ५÷५ अंक ल्याउन सफल काभ्रेका क्षितिज भण्डारी, दोलखाका आशिष फुयाल, भक्तपुरका गणेशमान दुवाल, काठमाडौंका प्रथम फिडे मास्टर मनिष हमाल र भक्तपुरका निर्मल सुवाल क्रमशः तेस्रो, चौथो, पाँचौं, छैटौं र सातौं भए। तेस्रो हुने भण्डारीले चार हजार, चौथो हुने फुयालले तीन, पाँचौं हुने दुवालले दुई र छैटौं तथा सातौं हुने हमाल र सुवालले एकएक हजार रुपैयाँ नगद पुरस्कार पाए। समान ४ दसमलब ५ अंक ल्याउने चितवनका सुमित पन्त, भक्तपुरका विक्रम चोकामी र धनुषाका सुशील चौधरी क्रमशः आठौं, नवौं र दसौं स्थानमा रहेका। उनीहरुले जनही एकएक हजार रुपैयाँ हात पारे।

त्यस्तै स्थानीय उत्कृष्ट बनेका विक्रम जतीले एक हजार पाँच सय रुपैयाँ नगद पुरस्कार जिते। उत्कृष्ट भेट्रान बन्न सफल नवीन तण्डुकार, उत्कृष्ट अनरेटेड बन्न सफल डीएस तुलाधर, उत्कृष्ट जुनियर बन्न सफल निकेन कुसाथा, उत्कृष्ट महिला खेलाडी बन्न सफल मतिना कुसी र उदीयमान खेलाडी बन्न सफल रुविन दुवाले पदकसहित जनही एकएक हजार रुपैयाँ पाए। प्रतियोगिताका विजेता, उपविजेतालगायतलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छे शिल्ड, पदक, प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा नेक्रायुसंघको केन्द्रीय खेलकुद समितिद्वारा आयोजित प्रतियोगितामा आठ जिल्लाका ३७ जना बुद्धिचाल खेलाडीहरुको सहभागिता रहेको समितिका संयोजक रामकृष्ण प्रजापतिले जानकारी दिए।