म्यानमारमा सैन्य कारवाही रोक्न संयुक्त राष्ट्रसंघको अपिल

२९ भाद्र २०७४, बिहीबार ०३:५७

भदौ २९, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले म्यानमारमा रोहिन्ग्या मुसलमानहरुले मानवीय विपद ब्यहोरिरहेको बताएका छन् ।

 

रोहिन्ग्याको घरमा सुरक्षाकर्मीले गरेको आक्रमण कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले म्यानमारलाई सैन्य कार्वाही रोक्न अपील गरेका छन् । एक तिहाई जनसंख्याले मुलुक छाड्ने अवस्था आउनु नरसंहारकै रुप भएको महासचिव गुटरेशको भनाइ छ । उनले सेनासँग संघर्ष गरिरहेको रोहिन्ग्या लडाकू समूहको आक्रमणको पनि आलोचना गरे । उनले घर फर्कन चाहनेलाई तत्काल फर्कने अनुमति दिन पनि म्यानमार सरकारसँग आग्रह गरेका छन् ।

 

म्यानमारको सैनिकले भने सर्वसाधारणलाई केही नगरिएको भन्दै कार्वाही अतिवादी केन्द्रित रहेको जिकीर गरिरहेको छ । रोहिन्ग्याविरुद्धको हिंसा र शरणार्थी समस्याबारे मै राष्ट्रसंघको सुरक्षा परिषदमा भएको छलफलमा म्यानमार सरकारको कदमप्रति आलोचना गरिएको छ । सर्वत्र आलोचना बढेपछि म्यानमारकी नेतृ आङ साङ सुकीले १९ सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामै नजाने निर्णय गरेकी छन् । यसैगरी राष्ट्रसंघले बंग्लादेशमा रहेका शरणार्थीका लागि प्राप्त सहयोग पनि निकै कम रहेको भन्दै थप सहयोगका लागि अपील गरेको छ ।म्यानमारको रखाइन प्रान्त छाडेर बंग्लादेशमा शरण लिने पुग्नेमा करीब चार लाख रोहिन्ग्या रहेका छन् ।(एजेन्सी)