मलेसियामाथि नेपालको शानदार जित, फाइनलमा हङकङसँग आइतबार भिड्ने

३१ भाद्र २०७४, शनिबार ०९:०७

३१ भदौ । मलेसियामा जारी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाइनलमा घरेलु टिममाथि नेपालले १० विकेटको शानदार जित हात पारेको छ । यससँगै उपाधिका लागि नेपालले अब आइतबार हङकङसँग खेल्नेछ ।

शनिबार भएको सेमिफाइनलमा घरेलु टोलीले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा विना विकेट क्षतिमा भेट्टायो ।

 

नेपाललाई शानदार जित दिलाउने क्रममा ओपनरद्धय सन्दिप सुनार र आसिफ शेख दुबैले अर्धशतक पुरा गरे । सन्दिप ५७ रनमा अविजित रहे भने आसिफ ५० रनमा नटआउट रहे ।

 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका नलिन डि सिल्भाले ३९ रन बनाए भने भिरनसिप सिंहले २५ रन जोडे ।

 

मलेसियालाई सस्तैमा समेट्ने क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २९ रन खर्चिएका थिए ।

 

पवन सरार्फले २ विकेट लिए भने रोहितकुमार पौडेल, साहब आलम र सन्दिप लामिछानेले १÷१ विकेट लिए ।