मतदान गरेका अधिकांश स्थानमा आजैबाट मतगणना हुने

२ आश्विन २०७४, सोमबार १४:५३

असोज २, काठमाडौं । प्रदेश नम्बर २ मा सम्पन्न निर्वाचनमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । केहिबेर अघि आयोगले पत्रकार सम्मेलन गरेर ७३ प्रतिशत मत खसेको जनाएको हो ।

 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद आयोगले निर्वाचन शान्तिपूर्ण र उल्लासमय रुपमा सम्पन्न भएको जानकारी दिएका छन् । उनले निर्वाचनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । उनका अनुसार आजै अधिकांश स्थानमा मतगणना सुरु हुनेछ ।  बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई(तीन घण्टा अघि नै मतदाताहरु लामवद्ध भएका थिए । कतिपय मतदान केन्द्रमा पुरुषको तुलनामा महिलाहरुको संख्या उल्लेख्य देखिन्थ्यो । प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका एक महानगरसहित १३६ स्थानीय तहमा चुनाव भएको छ । चुनावमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

 

केही स्थानमा भने फर्जी मतदाता भेटिएका छन् । महोत्तरीमा बिभिन्न मतदान केन्द्रबाट ११ फर्जी मतदाता पक्राउ परेका प्रहरीले जनाएको छ । सप्तरीमा अर्काको नाममा मतदान गर्न खोज्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रदेश २ मा मतदाता रहेका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिका साथै राजपा शीर्ष नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा लगायतले पनि मतदान गरेका छन् ।