फर्जी नागरिकता बनाएर शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

३१ भाद्र २०७४, शनिबार ०२:४०

भदौ ३१, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ।

मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो। यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेको छ।  ७३ पुस २० मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला निकालेर बिक्री गरिएको हो। गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। कागजी प्रक्रिया पूरा गर्न दलालहरूले खत्रीको नक्कली नागरिकता बनाएका थिए।

 

पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जिसीले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए। जिसीले उनलाई भक्तपुरका प्रकाश बस्नेतको जिम्मा लगाए। उनले मृगौला प्रत्यारोपण गरिएका शम्भुलालसँग चिनजान गराए। मृगौला झिकिनुअघिको चार महिना खत्री उनकै घरमा बसे। तर, सहमतिअनुसार तस्कर समूहले रकम नदिँदा एक वर्षपछि खत्रीले घटना बाहिर ल्याएका हुन्। सुरुमा आफुलाई मिगौला निकालिने जानकारी नै नभएको, अन्तिम समयमा थाहा पाउँदा मृगौला निकाल्न नदिए ज्यान मार्ने धम्की समेत तस्करहरुको समुहले दिएको उनको दाबी छ।

अप्रेसन गरेपछि तस्कर श्रेष्ठले नवीनलाई एक लाख २५ हजार रुपैयाँ दिएका थिए। सहमतिअनुसार पैसा नदिए मिडियामा जाने चेतावनी दिएपछि खत्रीले पुनः पाँच लाख पाएका थिए। उनी ‘पोखरामा घर बनाउने काम गर्दै आएको थिएँ। खाजा खाने क्रममा पोखराका नारायण जिसीसँग चिनजान भयो। नजिकिँदै जाँदा उनले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, गाडी र जागिर उपलब्ध गराउने भन्दै काठमाडौं लिएर आए,’ खत्रीले भने।

फर्जी नागरिकता बनाएर मिर्गौला निकालियो

रक्त समुह मिलेमा परिवारका सदस्यबीच मात्रै मिर्गौला प्रत्यारोपण गर्न पाइने कानुनी प्रावधान छ। परिवार बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएकाले दलालहरुले खत्रीको नक्कली नागरिकता बनाएर अस्पतालमा पेस गरेका थिए। जसमा अस्पतालका कर्मचारीहरु धनबहादुर गुरुङ र कुमार खनालले पनि उनीहरुलाई सघाएको आशंका छ। मिर्गौला निकालिएको विषयमा शम्भुलाल श्रेष्ठ र प्रकाश बस्नेतलाई फोन गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्। शिक्षण अस्पतालले खत्रीलाई २३ र शम्भुलाललाई २५ पुस ०७३ मा डिस्चार्ज गरेको थियो।

 

मिर्गौला निकाल्न नदिए मार्छु भन्ने धम्की आयो

म पोखरामा घर बनाउने काम गर्थेँ। सोही क्रममा नारायण जिसी भन्ने व्यक्ति सम्पर्कमा आउनुभयो। उहाँले ‘तपाईंको शरीरमा एउटा स्याउ छ, मलाई दिनुस्, म १० लाख, ऋणमा एउटा गाडी र जागिर दिन्छु’ भन्नुभयो। मलाई स्याउ भनेको थाहा भएन। मिर्गौला होला भन्ने पनि सोचिनँ। स्याउ दिँदा यति ठूलो रकम पाउने भएपछि दिउँ न त भन्ने लाग्यो। जिसीले मलाई काठमाडौं ल्याएर भक्तपुरका प्रकाश बस्नेतलाई जिम्मा लगाए। उनले मलाई काठमाडौंकै शम्भुलाल श्रेष्ठसँग भेट गराए। मैले चार महिना श्रेष्ठकै घरमा बसेर काम गरेँ। समय–समयमा स्वास्थ्य परीक्षण पनि भयो।

अप्रेसन गर्ने वेला चिकित्सकहरूको बोर्ड बैठक बस्दोरहेछ, त्यसवेला मात्र मैले थाहा पाएँ मेरो मिर्गौला निकालिँदै छ भनेर। यो थाहा पाएपछि भाग्ने सोच बनाएँ। त्यही वेला प्रकाश भन्ने दलालले फोन गरेर मलाई धम्क्यायो। ‘भाग्यो भने मार्छु’ भन्नेसम्मको धम्की आएपछि बोल्न सकिनँ र बाध्य भएर मिर्गौला निकाल्न दिएको हुँ।

उनीहरुले सुरुमा मलाई एक लाख २५ हजार दिए, अहिले मिडियामा जान्छु भनेपछि पाँच लाख थप दिएका छन्। तर, हामी कानुनी प्रक्रियामा जाने तयारीमा छौैँ। सिआइबीले बाहिर मिल्नुस्, हामीसँग कुनै सम्बन्ध छैन भनेकाले कानुनी रूपमा जान समस्या देखिएको छ। मेरो नागरिकता नै मिल्दैन। हामी फरक–फरक जातका मानिस भएकाले उनीहरूले दाजुभाइ देखाउन मेरो नक्कली नागरिकता बनाएका रहेछन्, तर मैले त्यो नागरिकता देख्न पाएको छैन। नयाँपत्रिकाबाट